
काठमाडौं । डेङ्गु सङ्क्रमण ७७ वटै जिल्लामा फैलिएको छ। डेङ्गुबाट अहिलेसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
गत साउनदेखि अहिलेसम्म ३८ हजार नौ सय १८ जनामा डेङ्गु पुष्टि भएको छ। डेङ्गु सङ्क्रमण रोक्न प्रतिकार्यका काम तीव्र पारिएको पनि मन्त्रालयले जनाएको छ। ७६ जिल्लामा यसअघि नै फैलिएको डेंगु पछिल्लो पटक मुस्ताङमा पनि देखिएको हो ।
यसैबीच मन्त्रालयका अनुसार शनिबार ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक हजार ७६३ नमूना परीक्षण गर्दा ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। आज १६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या छ सय ६७ छ।
अहिलेसम्म १० लाख एक सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। नौ लाख ८७ हजार चार सय ३८ सङ्क्रमणमुक्त भएका छन्। बाह्र हजार १८ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन्। आज ३० हजार आठ ७६ जनाले कोरोना सङ्क्रमण विरुद्धको खोप लगाएका छन्।