शनिबार, वैशाख १५ गते २०८१
Logo
शनिबार, वैशाख १५ गते २०८१

झापा १ :  ‘हेवीवेट’ बीचको  रोचक प्रतिस्पर्धा

झापा १ :  ‘हेवीवेट’ बीचको  रोचक प्रतिस्पर्धा

साझा पोष्ट
मंगलबार, कात्तिक २९ २०७९
  • images
    झापा १ :  ‘हेवीवेट’ बीचको  रोचक प्रतिस्पर्धा
    images

    झापा क्षेत्र नं १ ले यतिबेला मुलुककै ध्यान खिचेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका दुई ‘हेवीवेट’ बीचको रोचक प्रतिस्पर्धा हुने देखिएको छ । 


    images
    images

    झापा १ मा कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमाले–राप्रपा गठबन्धनबाछ अग्नि खरेल उम्मेदवार बनेका छन् । चुनावलाई आफ्नो पक्षमा पार्न दुबै नेता घरदैलोमा व्यस्त छन् । उनीहरु सहित यो क्षेत्रमा १५ जनाको उम्मेदवारी परेको छ । ती मध्ये तीन जना स्वतन्त्र उम्मेदवार छन् ।

    दोस्रो संविधानसभा निर्वाचन, २०७० मा एमालेका रविन कोइराला र २०७४ को संसदीय चुनावमा माओवादी केन्द्रका राम कार्कीसँग पराजय भोगेका शर्मा तेस्रोपटक चुनावी मैदानमा छन् । एमाले स्थायी कमिटी सदस्य खरेल आफ्नो गृहक्षेत्र झापा–२ भए पनि झापामा १ मा झरेका छन् । संसद् छिर्ने प्रयासलाई मूर्तरुप दिन शर्मा र खरेल दुवै खटिइरहेका छन् । 

    महामन्त्री शर्मा सुकुम्बासी समस्या समाधान, पुल निर्माण, नदी कटान नियन्त्रण, पर्यटकीय केन्द्रको स्तरीकरण, झापा–१ जोड्ने रिङरोड निर्माणलगायतका स्थानीय विकास र चासोको विषयलाई समेट्ने मतदातासमक्ष प्रतिबद्धता जनाउँदै आएका छन् । 

    पदमा नरहँदा पनि झापा क्षेत्र नं १ को सडक निर्माण, सामाजिक रुपान्तरण, स्वास्थ्य सेवालगायतका क्षेत्रमा काम गरेको शर्माको भनाइ छ । संविधानको रक्षा, लोकतान्त्रिक शासन पद्धतिको विकास र राजनीतिमा परिवर्तनका लागि गठबन्धन आवश्यक रहेको उल्लेख गर्दै शर्माले गठबन्धनका उम्मेदवारलाई जिताएर जनताको समृद्धिका लागि काम गर्ने अवसर दिन अपिल गरेका छन् । 

    एमाले–राप्रपा तालमेलका उम्मेदवार खरेलले जहिले विकास र निर्माणको संसदीय प्रक्रियामा आफू गाँसिएको  बताउँदै आएका छन् । 
    मेची, निन्दा, हडियाखोलमा बर्सेनि आउने बाढीले स्थानीय समस्यामा पर्ने भएकाले तटबन्धन निर्माण गर्न आफू प्रतिबद्ध रहेको खरेलको भनाइ छ । 

    शर्मा र खरेल दुवैले स्थानीय अवस्था, आवश्यकता र केन्द्रीय घोषणापत्रलाई आधार बनाएर प्रतिबद्धता जनाइरहेका छन् । दुवै उम्मेदवारले आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहे पनि परिणाम आफ्नो पक्षमा पार्न त्यति सहज छैन । 

    २०५७ मै कांग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै २०७२ मा केन्द्रीय सदस्यमा निर्वाचित भएका शर्मा २०७४ मा पार्टीका प्रवक्ता बने । २०७६ मा कांग्रेसको तर्फबाट सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख भएका उनी हाल महामन्त्री हुनुहुन्छ ।

    २०६४ र २०७० को संविधानसभा सदस्य भएका वरिष्ठ अधिवक्ता खरेल पूर्वकानुनमन्त्री हुन् भने हाल उनी एमालेको स्थायी समिति सदस्य र झापा इञ्चार्ज हुन् । 

    झापाको मेचीनगर नगरपालिकाका १५ वटै वडा, भद्रपुरको ९, १० नम्बर वडा र बुद्धशान्ति गाउँपालिकाको ४, ५, ६, ७ वडा मिश्रित झापा क्षेत्र नं १ मा एक लाख २० हजार तीन सय ७५ मतदाता छन् । जमध्ये करिब १३ हजार नयाँ मतदाता थपिएका छन् ।

    स्थानीय चुनावमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार यहाँ एमालेसँग ३१ हजार दुई सय ३२ मत छ भने कांग्रेससँग २४ हजार ५९ मत छ । राप्रपासँग पाँच हजार नौ सय २२ मत रहेको क्षेत्रमा माओवादीसँग तीन हजार नौ सय पाँच, एकीकृत समाजवादीसँग एक हजार दुई सय ५२ र लोकतान्त्रिक समाजवादी पार्टीसँग दुई सय ६२ मत छ ।

    नयाँ थपिएको मतदाता र चुनावको मुखमा दल अदलबदलको क्रमले चुनावी प्रतिस्पर्धा पेचिलो बन्ने निश्चित छ । कांग्रेसहितका सत्ता गठबन्धनका दलहरूको साथ, राजनीतिक रूपमा निरन्तर अग्लिँदै गएको आफ्नै व्यक्तित्वको बलमा महामन्त्री शर्माले बलियो संगठन भएको र क्षेत्रमा रहेको स्थानीय सत्ताको नेतृत्व गरेर बसेको एमालेका खरेलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

    झापा(१ मा दुबै प्रतिस्पर्धी ढुक्क हुने अवस्थामा छैनन्। आफ्नो क्षेत्रको लाभ शर्मालाई होला तर यहाँ परम्परागत जनमतका हिसाबले एमाले बलियो छ। त्यसको लाभ खरेलले पाउँछन्। शर्मालाई आफ्नो लोकप्रियता र स्थानीय उम्मेदवार भएको आधारमा एमालेको ठूलो जनमत आफूतिर तान्नुपर्ने चुनौती छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार