
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा निर्वाचित भएकोमा पार्टीको भ्रातृ संगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चले स्वस्ति शान्ति वाचन गराउँदै बधाई दिएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पण्डित वृहङगमराज तिमल्सिनाले शान्ति स्वस्तिका लागि मन्त्रोच्चारण गरेका गरेका थिए ।
मन्त्रोच्चारणपछि पण्डित तिमिल्सिनाले अध्यक्ष ओलीलाई रुद्राक्षको माला पनि लगाइदिएका थिए । मंसिर ४ गते भएको निर्वाचनमा एमालेले प्रतिनिधिसभा अहिलेसम्म ४३ सिट र प्रदेशसभामा ८९ सिट जितेको छ । अध्यक्ष ओलीले भने झापा ५ बाट फराकिलो अन्तरको जित निकालेका थिए ।
यसैबीच कार्यक्रममा अध्यक्ष ओलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अमेरिकाको फ्रिडम पार्टीको सबै नक्कल गरेको टिप्पणी गरेका छन् । रविको पार्टीको नाम, चुनाव चिन्ह र झण्डासमेत अमेरिकाको फ्रिडम पार्टीसँग मिलेपछि ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
‘अब संयोगै होला, अमेरिकामा फ्रिडम पार्टी छ, त्यस्को चिह्न घण्टी छ । फ्रिडम पार्टी अफ अमेरिकाको जस्तो दुरुस्त आकारको फोटो खिचेजस्तो घण्टी यहाँ पनि ल्याएको छ । फ्रिडम पार्टी संयोगै होला’, ओलीले भने, ‘तर अस्तिसम्म स्पाप्पै थियो, हावा नहाली ह्वाप्प त्यो बेलुन कसरी फुल्यो ?’
रवि लामिछाने लामो समय अमेरिकामा बसेर नेपाल फर्केका हुन् । उनको नागरिकता र पासपोर्टका विषयमा विवाद चलिरहेका बेला अमेरिकी पार्टीसँग उनको पार्टीको नाम, चुनाव चिन्ह र झण्डासमेत मिलेपछि अर्को आलोचना सुरु भएको छ ।