
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन प्रधामन्त्री बन्नका लागि आफ्नो आवश्यकता रहेको बताएका छन्।
मंगलवार पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको भेटपछि आफ्नै निवासमा महामन्त्री थापाले नेपाली कांग्रेसको युवा पुस्ताले देश हाँक्नुपर्छ भन्नेकुरा पार्टीको लागि पनि आवश्यक रहेको र आफू त्यसका लागि अघ बढ्ने बताए ।
उनले लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको परिस्थितिमा युवाको नेतृत्व देशलाई आवश्यक भएको बताए। उनले नेपाली कांग्रेसको तर्फबाट युवा पुस्ताले अब पार्टी र देशको नेतृत्व गर्ने समय आइसकेको बताए।
'आज समयले यो बेलामा नेपाली कांग्रेसको तर्फबाट यो पुस्ताको प्रतिनिधिले देश हाँक्छु भनेर अघि बढ्नुपर्छ। यो पार्टीको लागि पनि आवश्यक छ। पार्टी भन्दा पनि माथि राखेर हामीले हेर्ने हो भने लार्ज डेमोक्रेसीको कुरा गर्दा डेमोक्रेसीको सबैभन्दा महत्वपूर्ण कुरा भनेको चुनाव र नागरिकको भरोसा हो। व्यवस्थाप्रति नागरिकहरुको भरोसा हुनुपर्छ। भरोसा जोगाउन पनि यो आवश्यक छ। यो कुरा उहाँहरुलाई बुझाउन सकिन्छ।’ महामन्त्री थापाले भने ।
उनले पार्टीका अन्य नेताहरुले प्रधानमन्त्रीको लागि दाबी गर्ने कुरालाई स्वभाविक रुपमा लिनुपर्ने बताए।
‘प्रधानमन्त्रीको दाबी गर्ने कुरालाई स्वाभाविक रुपमा लिनुपर्छ। हाम्रो संसदीय व्यवस्थाभित्र अभ्यास गरिरहेको पार्टी हो नेपाली कांग्रेस। महामन्त्री थापाले भने, त्यसैले संसदीय दलभित्र नेता हुने चाहना फरक फरक नेताहरुले राख्ने, बीचमा छलफल हुने, बहस हुनेकुरालाई एकदमै स्वभाविक रुपमा लिनुपर्छ। मैले यसलाई स्वभाविक रुपमा लिएको छु।’
महामन्त्री थापाले कुनै समय आफूले वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता प्रकाशमान सिंहलाई संसदीय दलको नेताको रुपमा खुलेर भोट हालेको भन्दै अहिले युवा पुस्ताको नेतृत्व आवश्यक भएकाले अग्रज नेताहरुले पुरानो गुन लगाउनेमा विश्वस्त रहेको बताए।
‘एउटा बिन्दुमा मैले रामचन्द्र पौडेललाई मत हालेर संसदीय दलको नेता बनाएको हो। अर्को एउटा बिन्दुमा प्रकाशमान सिंहलाई खुला घोषणा गरेर संसदीय दलको नेतामा भोट हालेको हो। त्यो बेलामा उहाँहरुको नै आवश्यक्ता थियो। उहाँहरुको पक्षमा उभिएको हो। थापाले भने, यो समय अब हाम्रो समय हो। तपाईको आशिर्वाद साथ चाहिन्छ भन्दै गर्दा ती पुराना कुरा पनि पक्कै स्मरण गर्नुहुनेछ।'
महामन्त्री थापाले संसदीय दलको नेतामा चयन गर्न अधिकांश नेताहरुको साथ आफूलाई रहेको पनि बताए। उनले अधिकांश कांग्रेस सांसदहरुसँग टेलिफोनबाट वार्ता भएको र केही नेताहरुलाई भने भेटेरै कुरा गरिसकेको भन्दै उनले सबै नेताहरुले सहयोगको वाचा गरेको बताए। महामन्त्री थापाले अबको देशको नेतृत्व नेपाली कांग्रेसले नै गर्ने र कांग्रेसले नेतृत्व गर्दा नयाँ नेतृत्व दिनसके मात्रै नागरिकहरुलाई आश्वस्त बनाउन सकिने बताए।
उनले नयाँ कुरा दिन नसके प्रारम्भबाट नै विश्वासको कडी टुट्ने बताए। महामन्त्री थापाले नयाँ नेतृत्वको बारेमा पार्टी सभापति, वरिष्ठ नेता र अग्रज नेताहरुसँग कुरा गर्न बाँकी रहेको र अग्रज नेताहरुकै समर्थन र आशिर्वादमा आफूले कांग्रेसबाट देशको अबको नेतृत्व गर्ने दाबी गरे। महामन्त्री थापा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।