Sajha Post
न्युजिल्याण्डमा चुरोट खरिदमा आजीवन प्रतिबन्ध

एजेन्सी । न्युजिल्याण्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । विशेष गरी युवावर्गलाई लक्षित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो । 

सुर्तीजन्य धूमपानलाई चरणबद्धरूपमा नियन्त्रण गर्न सरकारले पारित गरेको कानुनअनुसार अब सन् २००९ जनवरी १ वा त्यसपछि जन्मेका कसैलाई पनि सुर्ती वा चुरोट बेच्न पाइने छैन । यसको अर्थ अब चुरोट किन्न न्यूनतम उमेर बढ्दै जानेछ ।  सैद्धान्तिक रूपमा, अब ५० वर्ष पछि चुरोटको प्याकेट किन्न खोज्ने जोकोहीले आफू कम्तीमा ६३ वर्ष पुगेको परिचयपत्र देखाउनुपर्नेछ । 

स्वास्थ्य अधिकारीहरूले त्यो भन्दा पहिले देशबाट धुमपानको अम्मल हराउने विश्वास गरेका छन् । उनीहरुले सन् २०२५ सम्ममा न्युजिल्याण्डलाई धुमपानमुक्त बनाउने लक्ष्य लिएका छन् । नयाँ कानूनले चुरोट बेच्न अनुमति दिने खुद्रा बिक्रेताको सङ्ख्या पनि छ हजारबाट घटाएर छ सय पुर्याएको छ भने सुर्तीमा निकोटिनको मात्रा पनि उल्लेख्यरूपमा घटाएको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update