Sajha Post
नेपालगञ्जमा एकै घरका चार बालबालिकामा दादुरा देखियो

बाँके । बाँकेको नेपालगञ्जमा बालबालिकामा दादुरा रोग देखापरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रामा एकै घरका चार बालबालिकामा दादुरा देखिएको हो ।

पाँचदेखि १२ वर्ष उमेरका तीन बालिका र एक बालकमा दादुरा पुष्टि भएको हो । त्यहाँ अरू १७ बालबालिकामा पनि दादुराको आशंका गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिए। लामो समयपछि नेपालगञ्जमा दादुरा देखिएपछि विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य कार्यालय बाँकेको टोली घटनास्थलमा खटिएको उनले बताए । 

नेपालले सन् २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको छ । दादुराको खोप नलगाएका या खोप पूरा नगरेका व्यक्तिमा दादुरा देखिने खोप सुपरभाइजर श्रेष्ठको भनाइ छ । सहजै फैलिने दादुराको पुष्टि भएका ती बालबालिका एउटै परिवारको भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले जानकारी दिइन् । 

उनका अनुसार ज्वरो आउने, जीउ दुख्ने, रुघाखोकी लाग्ने तथा मुखभित्र नीलो र सेतो रङ्गको दागलगायत लक्षण देखिएपछि उनीहरुलाई  उपचारका लागि बालरोग विशेषज्ञ डा विनोद खेतानकहाँ लगिएको थियो । 

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update