
इटहरी । धरान उपमहानगरपालिकाले पनि सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन डोजर चलाएको छ । आइतबार धरान ५ को देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको छ ।
धरान ५ मा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर निर्माण गरेको भन्दै महानगरपालिकाले बिहान मुना चौधरी लिम्बूले बनाएको घर भत्काएको हो ।
डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दाबीच झडप भएको छ । स्थानीयको ढुंगा प्रहारबाट उपमहानगरको डोजरको सिसा फुटेको छ भने केही व्यक्ति सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
धरान ५ को खारखोला र अधेरी खोलाको संगमस्थलमा बहुजातीय रंगशाला बनाउने धरान उपमहानगरले निर्णय गरेको थियो । उक्त क्षेत्रमा एकतले पक्की घर निर्माण गरिएपछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी अतिक्रमित जग्गा खाली गराइएको धरानका मेयर हर्क साम्पाङले बताए ।
उपमहानगरले घर निर्माण नगर्न पटकपटक पत्राचार समेत गर्दा अटेर गरी घर बनाएको बताएको छ । पहिलादेखि नै उक्त जग्गाको भोगचलन गर्दै आएको भन्दै स्थानीयले खोलाको भाग सिमांकन गर्नुपर्ने माग राखेका छन् ।