Sajha Post
कांग्रेसको एकमात्र सुत्र जसरी पनि सरकारमा जाने : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको एकमात्र सुत्र जसरी पनि सरकारमा सहभागि हुनु रहेको आरोप लगाएका छन् । बुधबार एमाले स्कुल विभागले गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले  सरकारमा सहभागिताबाहेक अन्य विषयमा  कांग्रेसले चिन्ता नगर्ने आरोप लगाए । 

उनले भने, ‘नेपाली कांग्रेस आफूलाई पुरानो हस्ती, लोकतान्त्रिक पार्टी भन्छ। उसैले देशका बारेमा चर्चा गर्न आवश्यक नै ठानेन। उसको एउटा मात्रै सुत्र छ। आफू सरकारमा हुनुपर्छ भइगो नि । त्यही हो लोकतन्त्र ? त्यही हो विकास ?’

अध्यक्ष ओलीले कांग्रेसले आफ्नो नेतृत्वमा सरकार भएपछि मात्रै विकास हुने भन्ने गरेको भन्दै आलोचना गरे । कांग्रेसमा नीति, चिन्तनको विश्लेषण गरेर मार्ग निर्देशन गर्ने जमात वैचारिक रुपमा पीडित हुने गरेको ओलीको भनाइ छ। 

उनले अरु पार्टीहरुले कर्मकाण्डी गर्ने गरेको बताउँदै एमालेले मात्रै विकास गर्न सक्ने दाबी गरे। देशलाई राजनीतिक रुपमा लोकतन्त्र भएको, अर्थतन्त्रको हिसाबले सबल र विकसित भएको समृद्ध देशको परिकल्पना गर्ने पार्टी एमाले मात्रै भएको ओलीको दाबी छ। 

ओलीले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने आफ्नो पार्टीको नीति रहने बताए । एमालेले छलछाम नभई सधैँ इमानको बाटो लिने उनको भनाइ थियो । ‘सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने हाम्रो नीति हो । सत्यसँग बाझिएका शक्तिसँग झुक्दैनौँ । सत्यसँग लड्दा सिङ भाँचिन्छ’, ओलीले भने, ‘सत्यको बाटो लिने हो छलछामको होइन । इमानको बाटो लिने हो, छलछाम होइन ।’

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update