
काठमाडौं । ‘कुमारी आमा’ भनिने निहारिका राजपुत र आरोपी शिवराज श्रेष्ठले अदालतमा मिलापत्र गरेका छन् । जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनिहरुले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ ९४० बमोजिम मिलापत्र गरेका हुन् ।
मिलापत्र अनुसार श्रेष्ठले अब निहारिकालाई श्रीमतीका रुपमा स्वीकार्ने भएका छन् । जिल्ला अदालतमा अंश मुद्दा दिएकी निहारिकाले आफूहरु दुईबीच पति–पत्नीका रुपमा बस्ने निर्णय भएको बताइन् ।
आफू बलात्कृत भएको भन्दै उनले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने, मुद्दाको बारेमा घटनाको सुरुवातदेखि नै पुनः जाँच गरिनुपर्ने माग राख्दै उनी पटक पटक अनशन बसेकि थिईन् ।
उच्च अदालत जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न ८ भदौमा आदेश दिए पछि गरिएको परिक्षणमा उनको छोराको डीएनए शिवराजसँग मिलेको थियो । डीएनए मिलेपछि निहारिकाले अदालतमा अंश मुद्दा दिएकी थिइन् ।
निहारिकाले २७ साउनमा शीतलनिवास अगाडि आत्मदाहको प्रयास समेत गरेकी थिइन् । निकट स्रोतका अनुसार मिलापत्रपछि निहारिका र शिवराज दुवै खुशी छन् । शिवराजको परिवारले पनि निहारिकालाई स्वीकार्ने भएको छ । उनीहरु एउटै छानोमा भने बस्न थालिसकेका छैनन् । निहारिकाको परिवार भने उनीसँग पहिल्यैदेखि रुष्ट छ ।