
काठमाडौं । पाकिस्तान सरकारले टेलिभिजन च्यानलहरूमा पूर्वप्रधानमन्त्री इमरान खानको भाषण र पत्रकार सम्मेलन प्रसारण गर्न प्रतिबन्ध लगाएको छ ।
पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले पूर्व प्रधानमन्त्रीले राज्यका संस्थाहरूमा आक्रमण गरेको र घृणालाई बढावा दिएको आरोप लगाउँदै टेलिभिजनहरुलाई उनका भनाइ प्रसारण गर्न रोकेको हो ।
‘खानले आफ्ना उत्तेजक बयानहरू मार्फत राज्य संस्था र अधिकारीहरू विरुद्ध निराधार आरोपहरू र घृणापूर्ण भाषण फैलाउँदै थिए’, अथोरिटीले सूचनामा भनेको छ, ‘जुन कानून र व्यवस्था लागि प्रतिकूल छ र सार्वजनिक शान्ति सुव्यवस्थालाई खलल पार्न सक्छ ।’
प्रधानमन्त्री पद गुमाएपछि राष्ट्रिय चुनावको माग गर्दै खानले ठूला ठूला सभा गर्न थालेपछि अथोरिटीले यसअघि पनि टिभी च्यानललाई उनको बयान प्रसारण गर्न प्रतिबन्ध लगाएको थियो ।आइतरबार पूर्वी शहर लाहोरमा गरेको संबोधनमा खानले पोहोर आफूलाई सत्ताबाट हटाउनुमा पूर्व सेना प्रमुख जनरल कमर जावेद बाजवाको हात रहेको आरोप लगाएका थिए ।
पूर्व क्रिकेटर खानलाई इस्लामावादबाट प्रहरीले भ्रष्टाचारको मुद्दामा पक्राउ गर्ने प्रयास गरेपछि उनी सरकारप्रति आक्रामक भैरहेका छन् । आफूमाथि लागेको अनियमितताका आरोप उनले अस्वीकार गर्दै आएका छन् ।