Sajha Post
कोशी प्रदेशको नाम परिवर्तन हुँदैन  : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम परिवर्तन नहुने बताएका छन् । नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि ओखलढुङ्गा पुगेका मुख्यमन्त्री कार्कीले रुम्जाटारमा आयोजित कार्यक्रममा कोशी नाम सर्वस्वीकार्य नाम भएकाले तत्काल प्रदेशको नाम परिवर्तन नहुने बताए । 

लामो समय नामविहीन प्रदेशमा आफू मुख्यमन्त्री भएपछि ९० प्रतिशत सांसदको बहुमतले कोशी नाम पारित गरेको बताउँदै उनले तत्काल नाम संशोधनका विषयमा छलफलसमेत नहुने बताए । नामको विषय छाडेर प्रदेशको समृद्धिमा लाग्न उनले आग्रह गरे । 

“कोशी सबैको सभ्यता र पहिचानसँग मात्रै होइन मानव जीवनसँग पनि जोडिएको नाम हो । ९० प्रतिशतभन्दा बढी सांसदले पारित गरिसकेको यो नाम अब परिवर्तन त होइन नामका विषयमा छलफलसमेत हुँदैन”, उनले भने, “हिजो नाम भएन भन्नेहरु आज नाम मन परेन भनेर आन्दोलन गर्दैछन्, यस्तो बाटोमा हिँडेर गन्तव्यमा पुगिन्न । बरु प्रदेश कसरी समृद्ध बन्छ त्यो सुझाव दिनुस् ।” 

प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने माग राख्दै विराटनगरमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरुले स्थानीय प्रशासनले घोषणा गरेको निषेधित क्षेत्रमा प्रवेश गरेपछि आइतबार प्रहरीले हवाई फायर गरेको थियो। 

त्यसको विरुद्धमा आक्रोशित भएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गर्दै चर्को नाराबाजी गरेका थिए । 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update