
-गाेकुल श्रेष्ठ
न्यूयोर्क । नेपालमा भ्रष्टाचारको आरोप लागेका व्यक्तिलाई अमेरिकामा बस्ने नेपालीले सार्वजनिक बहिस्कार गर्ने भएका छन् ।
प्रवासी नेपाली एकता मञ्च नेपालले न्यूयोर्कमा पत्रकार सम्मेलन गरी यस्तो अभियान चलाउने घोषणा गरेको हो । मञ्चले भ्रष्टाचारको आरोप लागेका जो कसैलाई पनि स्वागत नगर्ने एवं त्यस्ता व्यक्ति सहभागि कार्यक्रम बहिष्कार गर्ने अभियानमा साथ दिन अमेरिकामा रहेका सबै संघसंस्थालाई अपील समेत गरेको छ ।
यो अभियानमा ऐक्यवद्धता जनकाउने क्रम जारी रहेको भन्दै छिट्टै यसले मुर्त रुप लिने पनि मञ्चले विश्वास गरेको जनाएको छ ।
मञ्चले नेपालमा पछिल्लो समय बाहिरिएको नक्कली भुटानी शरणार्थी काण्डले उच्च तहको संगठित अपराधको पर्दाफास भएको निष्कर्ष निकाल्दै अब नागरिक तहबाट पनि यस्ता भ्रष्टाचारीलाई बहिस्कार गरिनुपर्नेमा जोड दिएको छ ।
नक्कली शरणार्थी भ्रष्टाचार काण्डले देशको साख गिरेको ठहर गर्दै मञ्चले यसको निष्पक्ष छानबिनको माग गरेको छ ।
‘अहिले नेपालमा उदांगिएको नक्कली भुटानी शरणार्थी प्रकरणले भ्रस्टाचार अर्थात आर्थिक अपराध कतिसम्म संस्थागत छ भन्ने कुरा मात्र होइन देशको स्वाभिमान र शीर समेत निहुर्याएको छ ।’ मञ्चका अध्यक्ष शंकर पन्तले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'निश्चय पनि संस्थागत भ्रष्टचारलाई अन्त्य गर्न धेरै चुनौतीहरुको सामना गर्नु पर्छ । तर पनि यो सरकार र खासमा गृहमन्त्रीले लिनुभएको शुरुवाती पहल प्रति हामी सम्मान ब्यक्त गर्दछौं ।’