Sajha Post
७५ वर्षका सिद्धारमैया बन्ने भए कर्नाटकाको नयाँ मुख्यमन्त्री

काठमाडौं । भारतको कर्नाटका राज्यमा सिद्धारमैया नयाँ मुख्यमन्त्री बन्ने भएका छन्। 

इन्डियन एक्सप्रेसका अनुसार मुख्यमन्त्रीका अर्का दाबेदार कंग्रेसका प्रदेश अध्यक्ष डिके शिवकुमार उपमुख्यमन्त्री बन्नेछन्। 
भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गे र पूर्वअध्यक्ष राहुल गान्धीबीच ७५ वर्षका सिद्धारमैयालाई कर्नाटकाको मुख्यमन्त्री बनाउने सहमति भएको हो। 

सुरूमा मुख्यमन्त्रीमा दाबी गरेका शिवकुमारलाई उपमुख्यमन्त्रीमा मनाउन पार्टीले उनलाई अन्य महत्वपूर्ण पद दिने प्रतिवद्धता व्यक्त गरेको बताइएको छ।   यसअघि पनि कर्नाटकको जिम्मेवारी सम्हालिसकेका सिद्धरामैयालाई कांग्रेसले विश्वास गरेको छ । शपथ ग्रहण समारोह यही मे २० मा बैंगलोरमा हुनेछ ।

सिद्धारमैया र शिवकुमारलाई आधा–आधा कार्यकाल मुख्यमन्त्री बनाउनेबारे छलफल भए पनि निर्णय नभएको बताइएको छ। कंग्रेसको संगठन बनाउन र पार्टीलाई आर्थिक स्रोत जुटाउन शिवकुमारले महत्वपूर्ण भूमिका खेलेका छन्। सिद्धारमैया भने आम मतदातामा निकै लोकप्रिय छन्। 

 कांग्रेसको पछिल्लो निर्णयबाट डीके शिवकुमारका भाइ डीके सुरेश असन्तुष्ट देखिएका छन् । ‘म पूर्णतया खुसी छैन, तर कर्नाटकको हितमा हामीले हाम्रो प्रतिबद्धता पूरा गर्न चाहन्थ्यौं, त्यसैले डीके शिवकुमारले स्वीकार गर्नुपर्‍यो ।' सांसदसमेत रहेका उनले भने,  भविष्यको बाटो लामो छ, हामी पर्खने र हेर्नेछौं ।’

machhapuchhre bank

सिद्धरामैयाका समर्थकहरूले खुसीयाली मनाउन थालेका छन् ।  सिद्धरामैया र डीके शिवकुमारको घरबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

कर्नाटकमा विधानसभाको चुनावी परिणाम शनिबार सार्वजनिक भएसँगै कांग्रेसमा भावी मुख्यमन्त्रीका लागि विवाद सुरु भएको थियो ।कांग्रेस नेतृत्वले सिद्धारमैयालाई मुख्यमन्त्री बनाउन चाहे पनि शिवकुमारले पनि आफ्नो दाबी प्रस्तुत गरेका थिए ।

एक साताअघि सम्पन्न विधानसभा निर्वाचनमा कर्नाटकामा कंग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको छ। २२४ सदस्यीय  विधानसभाको  १३६ सिट जित्दै कंग्रेसले एकल सरकार बनाउन लागेको हो।  
 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update