काठमाडौं । भारतमा आम चुनावको मतदान शनिबार सम्पन्न भएको छ । विभिन्न सात चरणमा भएको मतदान सकिएको हो । १९ अप्रिलमा पहिलो चरणको मतदान भएको थियो भने शनिबार १ जूनमा सातौँ तथा अन्तिम चरणको मतदान सकिएको छ ।
मतगणना भने ४ जूनमा गरिनेछ । इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान भएकाले एकै दिनमा मतपरिणाम आउनेछ । यो पटक मतदान कम भएकाले चुनावी परिणाम अनपेक्षित आउन सक्ने चर्चा भइरहेको छ ।
भारतीय लोकसभाका ५४३ सिटका लागि भएको चुनावमा मुख्यतया वर्तमान सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धन र कांग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनबीच प्रतिष्पर्धा हुनेछ । यी दुई मुख्य गठबन्धनबाहेक विभिन्न राज्यमा क्षेत्रीय दलहरूको पनि उपस्थिति हुने अनुमान छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि चुनावी मैदानमा छन् । उनी भारतको उत्तरप्रदेशको वारणसीबाट उम्मेदवार बनेका छन् ।
विपक्षी दलहरू गठबन्धन बनाएर भाजपाविरुद्ध चुनावी मैदानमा छन् । चुनावमा मोदीले सबैभन्दा धेरै चुनावी कार्यक्रममा भाग लिएको भारतीय सञ्चार माध्यहरूले जनाएका छन् ।
विपक्षी गठबन्धनका नेता कांग्रेसका आईका पूर्वअध्यक्ष राहुल गान्धीले पनि एक सयभन्दा धेरै स्थानमा चुनावी सभा गरेका छन् । शनिबार केही समयपछि भारतीय सञ्चार माध्यमहरूले एक्जिट पोल सार्वजनिक गर्ने तयारी गरेका छन् । एजेन्सी


