डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको हो ।
एक दशकपछि दोस्रो पटक टी- २० विश्वकप खेलिरहेको नेपालले पहिलो खेलमा राम्रो सुरुवात गर्ने लक्ष्य राखेको थियो । तर एसोसिएट क्रिकेटकै बलियो टोली नेदरल्याण्ड्स विरुद्ध नेपालको ब्याटिङ राम्रो हुन सकेन ।
चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाएको नेपालको लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए । उनले ५ चौका प्रहार गरे । रोहितले एक छेउबाट इनिङ्स सम्हाल्ने प्रयास गरेपछि गतिलो साथ पाउन सकेनन् ।
लोअर अर्डरमा करण केसीले १२ बल खेल्दै २ छक्का मदतमा १७ रन जोडे । गुल्सन झाले १५ बलमा १ छक्का प्रहार गर्दै १४ तथा अनिल शाहले १२ बलमा २ चौका मदतमा ११ रन जोडे ।
नेपाली समर्थकले खचाखच भरिएको मैदानमा नेपालले शुरु देखिनै ब्याटिंगमा संघर्ष गर्यो । टिम प्रिंगलको बलिंग सामू नेपालले खुलेर खेल्न सकेन् । १० रनमा आशिफलाई गुमाएको नेपालले १५ रन जोड्दा अर्का ओपनर कुशल भुर्तेललाई पनि गुमायो । त्यसपछि अनिल साह र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि २५ रनको साझेदारी गरे । कप्तान रोहित पौडेल एउटा एन्डमा डटिरहे पनि उनले गतिलो साथ पाउन सकेनन् । अरु ब्याटर आउने र जाने चलिरह्यो । रोहितपछि करण केसी र गुल्सन झाले केही साझेदारीको प्रयास गरे ।
नेपाललाई अलआउट गर्न बलिङमा नेदरल्याण्ड्सका लागि टिम प्रिन्जल र लोगन भान विकले समान ३ तथा पउल भान मिकेरन र बास डे लिडले समान २ विकेट लिए ।


