फ्लोरिडा (अमेरिका) । आइसिसी पुरुष टी ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको आफनो दोस्रो खेलमा नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्दैछ ।
अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा हुने खेल नेपाली समयअनुसार बुधवार बिहान ५ः१५ बजे सुरु हुनेछ । सिनियर प्रतियोगितामा नेपाल र श्रीलङ्काबीच यो पहिलो भेट हो । नेपाल टेष्ट राष्ट्र श्रीलङ्कालाई हराउँदै विश्वकप यात्रा अगाडि बनाउने कोसिसमा छ भने लगातार दुई खेलमा पराजित श्रीलङ्का एक खेल अघि नै प्रतियोगिताबाट बाहिरिने जोखिमबाट बच्न चाहान्छ । नेपाललाई विश्वकपको सुपर आठमा प्रवेश गर्न पनि बाँकी खेल जित्नुपर्ने दबाब छ । विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्नेछन् ।
नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो । यता श्रीलङ्काको दक्षिण अफ्रिकासँग छ विकेट र बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो ।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले श्रीलङ्काविरुद्धको खेल नेपालका लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसरको रुपमा रहेको बताए ।
उनले विश्वकप क्रिकेट प्रतियोगितामा एशोसिएट राष्ट्रले पनि टेस्ट राष्ट्रलाई पराजित गरेको इतिहास रहेको भन्दै आफ्नो टोलीले उच्च मनोबलका साथ श्रीलङ्का विरुद्धको खेलमा जित निकाल्ने विश्वास व्यक्त गरे ।
‘यदि विश्वकप हेर्छौं भने एसोसिएट टिमले टेस्ट राष्ट्रहरुलाई हराएका छन् । यसले हाम्रो मनोबल बढेको छ । हामी जित निकाल्न सकिन्छ भन्ने विश्वासका साथ नै अघि बढेका छौं ।’ उनले भने, हामीले यसका लागि २ महिनादेखि विश्वकप लक्षित तयारी गरेका छौं र डेढवर्षदेखि नियमित क्रिकेट खेलेका छौं । प्रदर्शन राम्रो गर्ने हामीमा विश्वास छ ।’
अमेरिकाले पाकिस्तान, क्यानडाले आयरल्याण्डलाई हराएको थियो । विश्वकप अघि नेपालले फ्लोरिडामै क्यानडाविरुद्ध एक अभ्यास खेल खेलेको थियो । जसमा नेपाल क्यानडासँग पराजित भएको थियो । अमेरिकासँगको खेल भने पानी परेपछि हुन सकेको थिएन ।
फ्लोरिडामै श्रीलङ्काले भने दुई अभ्यास खेल खेलेको थियो । पहिलो खेलमा नेदरल्यान्ड्ससँग हारेको श्रीलङ्काले दोस्रो खेलमा आयरल्यान्डलाई पराजित गरेको थियो । विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो ।


