काठमाडौं । यो वर्ष प्रदर्शनको ५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र ‘बोक्सीको घर’ बनेको छ । काठमाडौँस्थित रञ्जना सिनेप्लेक्समा प्रदर्शनको ५१औँ दिन पूरा गरिरहँदा चलचित्रले व्यावसायिक रुपमा पनि सफलता प्राप्त गरेको हो ।
निर्माण पक्षले दश करोड हाराहारीमा चलचित्रले कूल व्यापार (ग्रस कलेक्सन) गरेको बताएका छन् । यो अभिनेत्री केकी अधिकारीको पहिलो सर्वाधिक सफल चलचित्रसमेत बनेको छ । सयौँ साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) मा अभिनय गरेपछि डेढदशक अगाडि अधिकारी ‘स्वर’ चलचित्रमार्फत अभिनेत्रीको रुपमा ठूलो पर्दामा आउनुभएको थियो । स्वर चलचित्रमा उनि बाहेक प्रायः नयाँ कलाकार भएकाले दर्शकलाई चलचित्र भवनसम्म ल्याउने श्रेय उनलाई गयो ।
निरन्तर चलचित्र क्षेत्रमा व्यस्त अभिनेत्री अधिकारीले दुई वर्ष आगाडि चलचित्र ‘बोक्सीको घर’ मा अभिनय गर्न अडिसन दिएको बताए । उनले भूमिका निर्वाह गर्न सक्ने वा नसक्ने भन्ने थाहा पाउन निर्देशक सुलक्षण भारतीले क्यामेरा अगाडि अभिनय गर्न लगाएका थिए ।
“मलाई त्यो भूमिका निर्वाह गर्नुथियो । मैले गरिरहेको काम भन्दा फरक भएकाले मैले नयाँ कलाकार जस्तै अभिनय सिकेर, अडिसन दिएर काम गरेकी हुँ”, अभिनेत्री अधिकारीले भने । डेढ दशकपछि अडिसन दिनुको कारण उहाँलाई उक्त पात्र निर्वाह गर्दा देखाउन सकिने कलाकारिता र चलचित्रले उठान गरेको विषय थियो ।
कोरोना महामारी अगाडि उहाँले मण्डला नाटकघरमा नै बोक्सिको घर नाकम नाटक हेर्नुभयो । नाटक हेरेपछि शीर्ष भूमिका निर्वाह गर्नुभएकी सरिता गिरी र निर्देशक भारतीलाई बधाई दिएको उनले स्मरण गरिन् ।
गम्भीर विषयलाई मनोरञ्जनात्मक प्रस्तुति दिन सकिन्छ भन्ने लागेकाले कोरोना महामारीको बन्दाबन्दीमा पनि अभिनेत्री अधिकारीले ‘बोक्सीको घर’ चलचित्र बनाउने सोच बनाएको बताए ।
पहिलो निर्मित चलचित्र भारतीयको नक्कल रहेको आरोप खेप्नुभएकी अभिनेत्री अधिकारीले यसपटक मौलिकसँगै सामाजिक विषयलाई पर्दामा ल्याउने अठोट गरे । “मैले यो कथालाई बढीभन्दा बढी दर्शकलाई देखाउनु पर्छ भनेर बनाउने प्रस्ताव लिएर निर्देशक भेटेँ । उनले सुरुमा अस्वीकार गरे, मैले निरन्तर प्रयास गरेर सहमत गराएँ”, उनले भने।



