काठमाडौं । देशभर ५५ निर्वाचन क्षेत्रमा मतगणना चलिरहेको निर्वाचन आयोगले जनाएको छ।
पछिल्लो विवरण अनुसार मतगणना चलिरहेका क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ४१ स्थानमा अग्रता लिएको छ।
काठमाडौं उपत्यकाका १५ मध्ये १४ सिटमा उसका अग्रता छ । उसका शीर्ष नेता पनि अगाडि छन् । चितवन– २ मा सभापति रवि लामिछानेले अग्रता लिएका छन् भने झापा– ५ मा वरिष्ठ नेता बालेन शाहले अग्रता लिएका छन् ।
रास्वपाबाट काठमाडौं– १ मा रञ्जु दर्शना, काठमाडौं– २ मा सुनिल केसी, काठमाडौं– ३ मा राजुनाथ पाण्डे, काठमाडौं– ४ मा पुकार बम, काठमाडौं– ५ मा सस्मित पोखरेल, काठमाडौं– ७ मा गणेश पराजुली, काठमाडौं– ८ विराजभक्त महर्जन, काठमाडौं– १० मा प्रदीप विष्टले अग्रता लिएका छन् ।
भक्तपुरको दुवै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता लिएको छ । भक्तपुर– १ मा रुकेश रञ्जित र भक्तपुर– २ मा राजीव खत्रीले अग्रता लिएका छन् । ललितपुर– २ मा जगदीश खरेलले पनि अग्रता लिएका छन् ।
त्यस्तै, मोरङ– १ मा यज्ञमणि न्यौपाने, मोरङ– ४ मा सन्तोष राजवंशी, मोरङ– ५ मा आशा झा, धनुषा– ३ मा मनिष झा, रौतहट– ४ मा गणेश पौडेल, बारा– ३ मा अरविन्द साह, चितवन– ३ मा सोविता गौतम, कास्की– १ मा खड्कराज पौडेल, कास्की– २ मा उत्तमप्रसाद पौडेल कास्की– ३ मा बिना गुरुङ, रुपन्देही– २ मा सुलभ खरेल, रुपन्देही– ३ मा लेखजंग थापाले अग्रता लिएका छन् ।
दाङ– १ मा देवराज पाठक, बाँके– १ मा सुरेशकुमार चौधरी, बाँके– ३ मा खगेन्द्र सुनार र कञ्चनपुर– २ मा दीपकराज बोहरा अगाडि छन् ।
त्यसैगरी नेकपा एमालेले ५ स्थानमा अग्रता लिएर दोस्रो स्थानमा छ।
गगन थापा नेतृत्वको नेपाली कांग्रेसले तीन स्थानमा अग्रता लिँदा नेपाली कम्युनिस्ट पार्टीले २ स्थानमा अग्रता लिएको छ।
कांग्रेसले जसमा ललितपुर क्षेत्र नम्बर १ मा कांग्रेसका उदयशम्शेर राणा, कपिलबस्तु ३ मा अभिषेक प्रताप शाह र कैलाली १ मा जनकराज चौधरीको अग्रता छ। यो सुरुवाती अग्रता हो।
एमालेले रुपन्देही क्षेत्र नम्बर ४ मा प्रमोदकुमार यादव, बाँके २ मा मोहम्मद इस्तियाक राई, स्याङजा १ मा मीनप्रसाद गुरुङ, तेह्रथुम १ मा भानुभक्त ढकाल र चितवन १ मा दावा दोर्जे लामाले अग्रता लिएका छन्।
त्यसैगरी नेकपाले रुकुमपूर्व र कालिकोटमा अग्रता लिएको छ। नेकपाका संयोजकसमेत रहेका प्रचण्डले रुकुम पूर्वमा अग्रता लिएका छन्।
यसैगरी कालिकोटमा नेकपाका नेता महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन्।
अहिलेसम्म मोरङ क्षेत्र नम्बर ३ मा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले अग्रता लिएको छ।


