काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरबिच प्रतिस्पर्धा हुने भएको छ । उपसभामुखको उम्मेदवारी दर्ता गर्ने समयभित्र लामा र ठाकुरको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
रुवी कुमारीको प्रस्तावकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई र समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकी सांसद अम्बिकादेवी निरौला छन् ।
त्यस्तै, लामाले राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीलाई प्रस्तावक र राप्रपाकै अन्य सांसदहरू खुश्बु ओली, ताहिर अलि र भरत गिरीलाई समर्थक राखेर उम्मेदवारी दर्ता गराएकी छन् ।
प्रतिनिधि सभामा सत्तारुढ दल रास्वपाको एकल बहुमत छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको एक्लै १८२ मत छ । त्यसैले ठाकुर रास्वपाले मतदान गरेमा उपसभामुखमा निर्वाचित हुने निश्चित छ ।
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा उम्मेदवारी दर्ता पछि रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले आफूहरूले श्रम संस्कृति पार्टीका उम्मेदवार रुवी कुमारीलाई उपसभामुखमा मतदान गर्ने पत्रकारहरूलाई जानकारी गराएका छन् ।


