काठमाडौं । शुक्रवार बिहानी थापाथलीको सुकुम्बासी बस्तीले कहिल्यै नभुल्ने गरी पीडा लिएर आयो । सयौंको संख्यामा तैनाथ सुरक्षाकर्मीका बीच जब डोजरले बस्तीमा प्रवेश गर्यो । तब त्यहाँका बासिन्दाको सानो संसार क्षणभरमै तहसनहस भयो । बाँस र जस्तापाताबाट बनाइएका घरहरू मात्र भत्किएनन्, ती घरहरूभित्र जोडिएका मान्छेका वर्षौंदेखिका सपना भत्किए ।
बालबालिकाको कापी–कितावदेखि वृद्धवृद्धाको ओत लाग्ने थलोसम्म डोजर धुलिसात पार्यो । तस्बिरमा देखिएको एक वृद्धाको कारुणिक अनुहारले धेरै कुरा बोल्छ । घर भत्किरहेको दृश्य नियालिरहँदा उनको आँखामा देखिएको शुन्यताले राज्य कतिसम्म कठोर हुनसक्छ भन्ने प्रष्ट हुन्छ ।
एउटा सामान्य ओतको लागि वर्षौंदेखि संघर्ष गरिरहेका यी मानिसहरू आज फेरि सडकमा आइपुगेका छन् । डोजरले घर त भत्कायो, तर ती मानिसहरूको मनमा लागेको घाउ कहिले निको होला ?
यो प्रश्न आज थापाथलीको धुलोमा उडिरहेका कागजातहरू जस्तै सडकमा छताछुल्ल भएको छ । आज थापाथलीको बस्तीमा केवल डोजरको आवाज सुनिएको छ, तर भत्किएका घरहरूभित्रबाट आउने क्रन्दन । सरकारले कसरी सुन्छ त्यो भने हेर्न बाँकी छ ।




तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल


