काठमाडौं । सरकारले सरकारी निकाय र सार्वजनिक संस्थामा सरसफाइलाई संस्थागत गर्न देशव्यापी ‘राष्ट्रिय सरसफाइ सप्ताह’ शुरु गरेको छ ।
अभियानको सोमवार वीर अस्पतालमा सरसफाई गरेर स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले शुभारम्भ गरेकी हुन् । सरकारले सोमवारदेखि जेठ ८ गतेसम्म संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका सरकारी कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा सरसफाई अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । कार्यक्रममा मन्त्री मेहताले सरसफाईलाई दैनिक व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताइन् ।
वीर अस्पताल देशकै पुरानो र सबैभन्दा बढी सेवाग्राही चाप रहेको अस्पताल भएकाले यहीबाट सरसफाई अभियान संचालन गरेको उनले जानकारी दिईन । उनले अस्पतालमा पछिल्लो समय सुधारको प्रक्रिया शुरु भएको दाबी गर्दै बिरामी तथा चिकित्सकबाट पनि सकारात्मक प्रतिक्रिया आएको जानकारी दिईन् । । स्वास्थ्य मन्त्रालयको १०० बुँदे प्राथमिकतामा सरकारले सरसफाइलाई पहिलो प्राथमिकतामा राखेको जनाकारी दिँदै उनले अस्पतालका शौचालय, फ्लस प्रणाली, वार्ड, भुइँतला तथा अस्पताल परिसरको स्वच्छतालाई विशेष निगरानीमा राखिएको जानकारी दिइन् । मन्त्री मेहताले बिरामीको चाप व्यवस्थापन र सेवा प्रवाह सहज बनाउन अस्पतालमा डिजिटाइजेशन गर्ने बताइन् ।
उनले भनिन, ‘वीर हस्पिटल मात्र होइन । हामीले एक हप्ता सरसफाई कार्यक्रम देशभरि गर्न लागेका छौँ । हरेक ठाउँमा हामी आफैँबाट सरसफाई शुरु गर्नुपर्छ । घर, बाटो, हस्पिटल, कार्यालय हरेक ठाउँमा सरसफाईलाई दिनचर्यामा लैजानुपर्छ । वीर हस्पिटल हाम्रो सबैभन्दा पुरानो हस्पिटल हो । त्यो सोचेर हामीले हस्पिटलबाटै शुरुवात गरौँ न किन कार्यालयबाट गर्ने भनेर यो हस्पिटलबाट सरसफाई सुरुवात गरेका छौँ । अस्पतालको सेवामा पनि सुधार आउँदै गएको छ । शतप्रतिशत पर्फेक्ट त डेफिनेट्ली भएको छैन तर परिवर्तन परिवर्तन हुने क्रममा छ । हामी अझ प्रयास गर्छौँ । सबैजना पोजिटिभ हुनुहुन्छ ।’
वीर अस्पतालका उपसचिव हरी पंगेनीले सरकारले स्वीकृत गरेको ‘सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शक २०८३’ मा कार्यालय सरसफाई, शौचालय स्वच्छता, क्यान्टिन व्यवस्थापन, फोहोर व्यवस्थापन, सेवाग्राही सन्तुष्टि तथा संस्थागत अनुगमनलाई मुख्य सूचकका रूपमा समावेश गरिएको बताए । सरकारी कार्यालय वरपर १०० मिटर क्षेत्रभित्रको सरसफाइसमेत सम्बन्धित कार्यालयको जिम्मेवारीभित्र राखिएको उनले जानकारी दिए । साथै प्रत्येक कार्यालय प्रमुखले नियमित अनुगमन, मूल्यांकन र प्रतिवेदन प्रणाली लागू गर्नुपर्ने व्यवस्था गरिएको उनको भनाई छ । उहाँले सरसफाई अभियानलाई वर्षभरि निरन्तर सञ्चालन गर्ने बताइन् । सरसफाईसँगै अब सरकारी कार्यलयमा रहेका सूचना बोर्ड, नागरिक वडापत्र र सङ्केत चिह्नहरूलाई स्पष्ट र व्यवस्थित बनाइनेछ । चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत र रङ्गरोगन गरि मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक र सफा राखिने जनाएकाे छ । – न्युज एजेन्सी नेपाल


