२०८३, साउन २९ गते

शुक्रबार, साउन २९ गते २०८३

शुक्रबार, साउन २९ गते २०८३

नर्स ज्योतिले तोडिन् अनशन, सरकारसँग भयो १९ बुँदे सहमति

नर्स ज्योतिले तोडिन् अनशन, सरकारसँग भयो १९ बुँदे सहमति

साझा पोष्ट
बुधबार, साउन २० २०८३
  • images
    images
    नर्स ज्योतिले तोडिन् अनशन, सरकारसँग भयो १९ बुँदे सहमति

    काठमाडौं,साउन २० ।  एक हप्तादेखि विभिन्न माग राख्दै वीर अस्पतालमा आमरण अनसनमा बसेकी नर्स  ज्योति रानाभाट र सरकारबीच गएराति १९ बुँदे सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रानाभाटको टोलीबीचको निरन्तर वार्तापछि रानाभाटले आफ्नो सत्याग्रह अन्त्य गर्ने  गरेकी छन् ।
    सरकारकातर्फबाट स्वास्थ्‍य तथा खाद्यय स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त चन्द्र झा र कानुन अधिकृत जयप्रसाद सुवेदी र नर्स रानाभाटबीच सहमति भएको हो । सहमति पत्रमा नर्सिङ क्षेत्रको सुधारका लागि दीर्घकालीन र तत्कालीन महत्वका धेरै विषय समेटिएका छन् ।


    images

    सहमति अनुसार ‘स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७’ बमोजिमको नर्स–बिरामी अनुपात (Nurse-to-Patient Ratio) लाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने भएको छ । यसका लागि संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) सर्वेक्षण मार्फत आवश्यक दरबन्दी सिर्जना गरिने र करार सेवालाई क्रमशः विस्थापित गर्दै स्थायी पदपूर्तिको प्रक्रिया अघि बढाउने प्रतिबद्धता सरकारले जनाएको छ । यस्तै, स्वास्थ्य सेवामा नर्सिङ तर्फका ९ औं, १० औं र ११ औं तहका दरबन्दीहरू पनि सुनिश्चित गरिने भएको छ ।

    सरकारी तथा निजी अस्पताल र शिक्षण संस्थाहरूमा कार्यरत नर्सहरूको पारिश्रमिक तथा सेवा शर्त निर्धारण गर्न ७ दिनभित्र कार्यदल गठन गर्ने सहमति भएको छ ।

    कार्यदलले ६ महिनाभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ । साथै, सेवा शर्त र जोखिमको वर्गीकरण अनुसार नर्सलाई कम्तीमा २५ प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन कानुनी व्यवस्था सुनिश्चित गर्ने सहमति पनि भएको छ ।

    नर्सहरूको कार्यभार कम गर्न र सेवाको गुणस्तर सुधार्न ‘एक स्वास्थ्यकर्मी–एक स्वास्थ्य संस्था’ को अवधारणालाई कार्यान्वयनमा लैजाने बुँदा सहमति पत्रमा उल्लेख छ । यसका साथै सबै अस्पतालहरूमा ‘नर्सिङ प्रोसेस’ र ‘नर्सिङ केयर प्लान’ अनिवार्य रूपमा लागू गरिने र त्यसको अनुगमन हुनेछ ।

    सहमति पत्रमा सहायक नर्स मिडवाइफ (अनमी) हरूलाई प्रवीणता प्रमाणपत्र (PCL) नर्सिङ वा मिडवाइफ्री अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने उल्लेख छ । साथै, विशेषज्ञ नर्स (Specialist Nurse) र एडभान्स प्राक्टिस नर्स ((APN) जस्ता पदहरू सिर्जना गर्न एक महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिने भएको छ ।

    नेपाल नर्सिङ परिषद् ऐनलाई समयसापेक्ष संशोधन गर्ने र नर्सिङ तथा मिडवाइफ्री सेवाका लागि छुट्टै ऐन तर्जुमा गर्ने प्रक्रियामा नर्स अभियन्ताका प्रतिनिधिहरूलाई पनि सहभागी गराइनेछ । निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई पनि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट सञ्चालन हुने तालिमहरूमा सहभागी गराउने र त्यसको उचित मूल्यांकन गर्ने व्यवस्था मिलाइने सहमति पत्रमा उल्लेख छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार