काठमाडौं १, जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को राजीनामा मागेका छन् ।
शुक्रबार प्रेस विज्ञप्तिमार्फत् सांसद साम्पाङले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । संसदमा नीति तथा कार्यक्रम पेस गर्न र उठेका प्रश्नसमेतको जवाफ दिन नआएको भन्दै उनले प्रधानमन्त्रीले राजीनामा दिए लोकतन्त्र र नागरिक सम्मानित हुने विचार व्यक्त गरेका छन् ।
‘आजका मितिसम्म संसदमा कुनै पनि बैठकमा जनतालाई सम्बोधन नगर्नुले प्रधानमन्त्री वालेन्द्र शाहले संसदलाई अपमान गरेको, संसदमार्फत् सारा नेपाली जनताको लोकतन्त्रप्रतिको विश्वासलाई लत्याएको प्रमाणित हुन्छ। संसदमा मर्यादा र थिति बसाउन नसक्ने प्रधानमन्त्री असक्षम र असफल भएको देखिन्छ! यो घटनाले संसदीय अभ्यासको इतिहासमा कालो धब्बा लगाएको छ,’ उनले भनेका छन, ‘आफ्नो धारातल बिर्सेर जनताका प्रश्नहरूको उत्तर दिन नसक्ने, लुकेर बस्ने के प्रवृत्ति हो यो? यसले कस्तो नजीर बसाउँछ? कर्तव्य पूरा नगर्दा अधिकार प्राप्त नहुने हुँदा न्युनतम कर्तब्य समेत पूरा नगरेको कारण नैतिकताको आधारमा पदबाट राजिनामा दिएर मार्ग प्रसस्त गर्दा लोकतन्त्र सम्मानित हुने, जनता सम्मानित हुने देखिन्छ । ’
उनले राजीनामा माग्दै राजीनामा दिनुपर्ने चार कारण पनि सार्वजनिक गरेका छन् । साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढ्दापढ्दै गरेको अवस्थामा आफू चाहि बाहिरिएको र सभामा नफर्किनुलाई पहिलो कारण उल्लेख गरेका छन्।
दोस्रो, नीति तथा कार्यक्रम छलफलको लागि संसदमा पेस गर्न अनुपस्थित भएको, प्रतिपक्षहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दा समेत उपस्थित नभएको, संसदमा उपस्थित नभई नजीकै रहेको आफ्नै कार्यालयबाट संसदका सम्पूर्ण गतिविधि लाइभ हेरेको तर उपस्थित नभएकोलाई दोस्रो कारण बनाएका छन्।
नीति तथा कार्यक्रममा छलफल हुँदा बखत अनुपस्थित रहेको र नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको उत्तर दिन प्रधानमन्त्री स्वयम् उपस्थित रहनु पर्ने संसदीय परम्पराको बेवास्ता गरेर बिना कुनै कारण अनुपस्थित रहेकोलाई तेस्रो कारण बनाएका छन्।
अहिलेसम्म संसदकाकुनै पनि बैठकमा जनतालाई सम्बोधन नगर्नुलाई हर्कले राजीनामा दिनुपर्ने चौथो कारणका रुपमा अगाडि सारेका छन् ।


