पहिलेका प्रधानमन्त्रीहरु दलका कार्यक्रमहरुमा, उद्घाटन र शिलान्यासहरुमा अनि जहाँ माइक देख्यो त्याहाँ बोल्ने नबोल्ने बोल्थे । तर संसदमा एकदम कम उपस्थित हुन्थे । संसदीय व्यवस्थामा संसदबाट नै चुनिएको प्रमले बोल्ने एकमात्र लेजिटिमेट थलो भनेको सार्वभौम संसद नै हो । या त संसदीय व्यवस्था नै फाल्नुपर्यो या यो परम्परा पालना गर्नुपर्यो । त्यही नगर्दा पहिलेका प्रमहरु जनताको आँखामा बिझाएका थिए ।
अहिलेका प्रमले पनि संसदलाई इग्नोर गर्ने प्रवृत्ति दोहोर्याएका देखिन्छन् । उनी पहिलेका प्रमहरु जसरी बढी त बोल्दैनन् तर संसदमा पनि बोल्दैनन् । बरु फेसबुकमा बोल्छन् (लेख्छन्) । यो उल्टो बाटो हो । केही समय यो बाटो हिंड्न सकिएला । तर गन्तव्यमा पुग्न सकिंदैन ।
केहीको तर्क छ- काम गरे त भयो । किन बोल्नुपर्छ र ? निश्चय पनि हामीलाई काम नै चाहिएको हो । तर बोल्न कति समय लाग्छ र ? पाँच मिनेट ? दश मिनेट ? आधा घण्टा या एक घण्टा ? यति बोल्दा बिग्रिने के काम हुन्छ होला र ? ए फोर साइजको पेपरमा दुई पेज लेखेर बोल्ने हो भने पाँच मिनेटमा सकिन्छ । भन्न खोजेको कुरो पनि आउँछ । फेरि किन कन्जुस्याईं ? !
कसैले यसलाई क्रमभंगताको नाम दिएका छन् । क्रमभंगता नै थियो भने चुनाव अघि किन बोलेको ? विभिन्न ठाऊँमा किन पुगेको ? फेसबुकमा लेखेरै क्रमभंगता भइरहेकै थियो त ! किन जनतालाई फेस गर्नुपरेको ? किन अंगालो हाल्नु परेको ? किन चिया कफी र खाजा सोध्नुपरेको ? जनता नै सर्वोंपरी भएर हैन ? तिनै जनतालाई पाँच मिनेटको ‘धन्यवाद’ सम्बोधन नगरेर केको र कसको लागि क्रमभंगता गर्न खोजिएको ? !
मान्नुस्, नमान्नुस्, समर्थकलाई, भोटरलाई र शुभचिन्तकलाई पनि यो कुरा बिझाएको छ । तर उनीहरु तत्काल यो तिक्तता व्यक्त गर्न चाहँदैनन् । किनकि उनीहरु पैंतीस वर्षदेखि आजीत छन् । उनीहरुलाई काम चाहिएको छ । ‘बिरालो जुन रंगको होस् तर मुसा मारोस्’ भन्ने मानसिकतामा उनीहरु छन् यतिबेला ।
तर काम गर्नको लागि जनतासंग कनेक्ट हुनु पनि त पर्छ । र त्यो कनेक्टिभिटी बोलीवचनले नै त स्थापित गर्ने हो । त्यही कनेक्टिभिटीकै लागि चुनाव अघि विभिन्न भ्रमण र सभा गरिएको होइन र ? अहिले धन्यवादको लागि पाँच मिनेट किन छुट्याइएन भन्ने आम समर्थक, कार्यकर्ता र शुभचिन्तकलाई लागेकै छ, जसले जुन तर्कले ईन्कार वा प्रतिरक्षा गरोस् ।
तथापि नियमावलीले बाध्य नपारेको विषयमा जिद्दी कसेर विपक्षी दलले संसदमा जुन जात्रा देखाए त्यसले हालका प्रमकै पक्षमा माहौल ल्याइदियो । एउटा ‘अकर्मण्यता’ लाई अर्को ‘अराजकता’ ले ढाकछोप गरिदियो ।
नेपाली समाज रहस्यमा रमाउने र नायक समाउने बानी परेको समाज हो । पुराना दलहरुले नै बसालेको संस्कार हो यो । तपाईं उनीहरुका कार्यकर्तासंग एकछिन गफिनु भयो भने थाहा लाग्छ उनीहरु कस्ता कस्ता कन्स्पिरेसीका कुरा गर्छन् । आफ्नै पार्टी वा गुटभित्रका कथालाई कसरी सनसनी बनाएर सुनाउँछन् । नायक र खलनायक निर्माण गर्छन् । कुनै चलचित्र वा उपन्यास जसरी देश र समाजको वर्णन गर्छन् । राजनीतिमा लागेका यी रैथानेका कुरा, कुनै सस्पेन्स थ्रिलर चलचित्रका पटकथा भन्दा फरक लाग्दैनन् । र फरक हौं भन्ने हामीहरु पनि ।
हामी समर्थन जसलाई गरौं, रहस्यमा रमाउने र नायक जन्माउने धंगधंगी हाम्रो जिनमै छ, रगतमै छ । एकतर्फका असन्तुष्टिले अर्को अकर्मण्यता जन्माउने डर यस्तै समाज र मानसिकता बिच रहिरहन्छ ।
अर्कोतर्फऽ
आलोचनात्मक चेत राख्ने नाममा ‘राम्रो’ र ‘उज्यालो’ देख्नै र लेख्नै बिर्सिएको समाज पनि हामीभित्र नै निर्माण भइरहेको छ । सुसुप्त तर चरम दासताको प्रतीक यो समाज, जो एक व्यक्ति, समुह वा दर्शनबाट निर्देशित भइसकेपछि दायाँबायाँ हेर्न नै खोज्दैन, कसैगरी देखिए पनि आँखा छोपिहाल्छ ।
आँखा छोपे पनि सत्य कहाँ छोपिन्छ र ? सत्य यही हो कि हामी जनता बन्न अझ केही दशक लाग्ने देखिन्छ । त्यतिबेला सम्म हामी त रहौंला नि हगि ?


