काठमाडौं । कप्तान रोहित पौडेल र इशान पाण्डेको शतकीय साझेदारीमा आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले स्कटल्यान्डमाथि शानदा जित हासिल गरेको छ । जारी श्रृंखलामा नेपालको यो दोस्रो जित हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा कप्तान रोहित र इशानको शतकीय साझेदारीमा घरेलु टिम नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको हो । योसँगै शृंखलाको पहिलो खेलमा स्कटल्यान्डसँग ब्यहोरेको हारको बदला पनि नेपालले लिएको छ ।
स्कटल्यान्डले दिएको १९५ रनको मध्यम लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । कप्तान रोहित पौडेल ७४ र आरिफ शेख ८ रनमा नटआउट रहे । ओडीआईमा १२औँ अर्धशतक बनाउने क्रममा कप्तान रोहितले ९८ बलमा ५ चौका र २ छक्का हाने ।
त्यसअघि कप्तान रोहित र इशान पाण्डेले १०४ रनको साझेदारी गर्दै नेपाललाई जिततर्फ अघि बढाएका थिए ।तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका इशान पाण्डेले ओडीआईमा पहिलो अर्धशतक बनाउँदै ५५ रनको योगदान दिए । ६१ बल खेलेका इशानले ५ चौका र २ छक्का प्रहार गरे ।
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ५८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएको खेलमा बाँकी काम रोहित र इशानले गरे । आसिफले २९ र कुशलले २८ रनको योगदान दिए । १७ बल खेलेका आसिफले ३ चौका र २ छक्का प्रहार गरे । यस्तै, २७ बल खेलेका कुशलले ४ चौका र १ छक्का प्रहार गरे । स्कटल्यान्डका लागि मार्क वाटले २ तथा ब्रान्डन म्याकमुलेनले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ३९.१ ओभरमा अलआउट हुँदै १९४ रन बनाएको थियो । स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ७३ रन जोडे म्याकमुलेनले ४४ बलमा ६ चौका र ६ छक्का हाने । यस्तै, माइकल इंग्लिसले ५१ रनको योगदान दिए । इंग्लिसले ७२ बलमा ४ चौका र १ छक्का प्रहार गरे । यस्तै, जर्ज मुन्सेले २१, मार्क वाटले २० र कप्तान रिची बेरिङ्टनले १२ रनको योगदान दिए ।
नेपालका लागि ललितनारायण राजवंशीले ४ र सन्दीप लामिछानेले ३ विकेट लिए । यस्तै, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले १–१ विकेट लिए ।
सन्दीपको विश्व कीर्तिमान
स्कटल्यान्डविरुद्ध ३ विकेट लिएका लेगस्पिनर लामिछानेले विश्व कीर्तिमान बनाए । लामिछानेले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अस्ट्रेलियन स्टार मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोडे । सन्दीपले एकदिवसीय ७३ खेलमा १५० विकेट लिन सफल भए । स्टार्कले यो उपलब्धि ७७ खेलमा पूरा गरेका थिए ।
स्कटल्यान्डविरुद्धको खेलमा सन्दीपले जर्ज मुन्सी, ब्रान्डन मकमलेन र म्याथ्यु क्रसको विकेट लिए । जितपछि २७ खेलबाट २२ अंक जोड्दै नेपाल लिग–२ को अंकतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । स्कटल्यान्ड भने ३१ खेलमा ३८ अंकका साथ तालिकाको शीर्ष स्थानमा यथावत छ ।
नेपालले अब शुक्रबार अमेरिकासँग शृंखलाको अन्तिम खेल खेल्नेछ । अमेरिकालाई अघिल्लो खेलमा नेपालले ९ विकेटले हराएको थियो ।


