काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकामाथि १२२ रनको शानदार जित हासिल गरेको छ । टस हारेर पहिलृ ब्याटिङ गरी ३ सय १७ रनका विशाल योगफल खडा गरेको नेपालले अमेरिकालाई ४१ ओभर २ बलमा १९५ रनमै अलआउट गर्यो ।
अमेरिकाका लागि सन्जय कृष्णमुर्तिले सर्वाधिक ५६ रन बनाएपनि हार टरेन् । नेत्र केन्जिगे २९, शयान जहांगिर २७, शेहान जयसुरिया २६, कप्तान शैतेजा मुक्कामुल्ला २२, मिलिन्द कुमार १२, शौरभ नेत्रभाल्कर १० र शुभम रन्जने २ रनमा आउट भए । हर्मित सिंह र स्मित पटेलले खाता खोल्न सकेनन् ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले २(२, सोमपाल कामीले एकएक विकेट लिए ।
त्यसअघि कीर्तिपुरमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाएको थियो । टियूमा नेपालले बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो ।
नेपालका लागि इशान पाण्डे र उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । इशानले ८४ रनको उत्कृष्ट ब्याटिङ गरे । उनले ८३ बलमा ८ चौका र एक छक्का प्रहार गरे । इशानले लगातार दोस्रो खेलमा अर्धशतक बनाएका हुन् । उनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ११० रनको शतकीय साझेदारी गरे । यो जोडीले अघिल्लो खेलमा पनि शतकीय साझेदारी गरेको थियो ।
कप्तान रोहित ५९ बलमा ४६ रन बनाएर आउट भए । त्यसअघि आसिफ शेख र कुशल भुर्तेलले ६९ रनको ओपनिङ साझेदारी गरेका थिए । कुशलले २९ र आसिफले ४३ रनको योगदान दिए ।
दीपेन्द्रले आक्रामक ब्याटिङ गर्दै ३६ बलमा ५९ रन जोड्ने क्रममा समान ४ चौका र छक्का प्रहार गरे । आरिफ शेख १७ रनमा नटआउट रहे ।गुल्सन झा १५, सोमपाल कामी ५ र नन्दन यादव एक रन बनाएर आउट भए ।
बलिङमा अमेरिकाका शुभम रञ्जने २, मिलिन्द कुमार र रुशिल उगर्कारले एकएक विकेट लिए । लिगको यो श्रृंखलामा नेपालले तीन जितसहित ६ अंक जोडेको छ ।


