काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधानअनुसार नचल्नेहरूलाई कारबाही गरिने चेतावनी दिएका छन्।
आज (शनिबार) बिहान विराटनगरस्थति नेता डाक्टर शेखर कोइरालाको निवास पुगेर पत्रकार सम्मेलन गर्दै उनले सदस्यता नवीकरणमा अवरोध गर्नेहरूलाई जिम्मेवारीबाट हटाइने बताएका हुन्।
कारबाहीको प्रक्रिया सुरु भइसकेको बताउँदै सभापति थापाले सदस्यता नवीकरणमा अवरोध सिर्जना नगर्न आग्रह गरेका छन्। उनले सदस्यता नवीकरणमा कुनै असहजता नरहेको पनि दाबी गरे ।
‘कुनै पनि तहबाट कसैले पनि सदस्यता अद्यावधिकमा अवरोध सिर्जना गर्नुभयो भने पार्टीको विधान अनुसार साथीलाई ‘धन्यवाद’ भनेर मैले अर्को साथीलाई जिम्मेवारी दिन्छु’,उनले भने,‘ त्यो प्रक्रिया प्रारम्भ भइसकेको छ, पार्टीको क्रियाशील सदस्यको तथ्याङ्क केन्द्रसँग हुनु भनेको भोलि उम्मेदवार छान्ने बेला र सूचना पाउने बेला सदस्यको अधिकार बलियो हुनु हो । यसमा कसैले अवरोध सिर्जना गर्नुहुन्न भन्ने विश्वास छ ।’
उनले पार्टीका सबै संयन्त्रहरू सहमति र सल्लाहकै आधारमा बनाउन आफू तयार रहेको भनिसकेपछि समस्या नभएको पनि बताए । उनले आफ्नो अनुहार मन नपरेको हो ? भनेर पनि देउवा पक्षलाई सोधे ‘पार्टीको सबै नेताहरूले को–को राख्दा चित्त बुझ्छ भन्नुस्, ती सबै राख्न म तयार छु’, उनले भने,‘पार्टीको सदस्यता व्यवस्थापन समिति पनि सल्लाहले बनाउने, पार्टीको अनुशासन समिति सल्लाहले बनाउने, पार्टीको निर्वाचन समिति सल्लाहले बनाउने, चाहेको जति नेताहरू पार्टीको केन्द्रीय समितिभित्र आएर बस्ने वातावरण बनाउने भनिसकेपछि अब कि त अनुहार मन पर्दैन भन्नुप¥यो, त्योभन्दा बाहेक बाँकी रहेको भन्ने ठाउँ चाहिँ केही पनि छैन।’


