काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमा नाम परेपछि रास्वपा सांसद हरि ढकालले कडा आपत्ति जनाएका छन् ।
जेनजी आन्दोलनबारे अध्ययन गरी आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा नख्खु कारागारमा रवि लामिछानेलाई छुटाउन र आन्दोलन भड्काउन उनको शंकास्पद भूमिका देखिएको भन्दै अनुसन्धान र कारवाहीको सिफारिस गरिएपछि ढकाल आक्रोशित बनेका हुन् ।
उनले आयोगको प्रतिवेदनप्रति आपत्ति जनाउँदै 'युद्धजारी' छ भनेर चेतावनी दिएका छन् । उनी सामाजिक सञ्जालमा लेख्छन, युद्धजारी छ, केही समय चल्छ, कथा नलेख ।'
ढकालको स्ट्याटस जस्ताको तस्तै :
युद्ध हुँदाहुँदै लेखिएको होइन महाभारत, युद्ध सकिएको धेरैपछि लेखिएको हो।
युद्ध चलिरहेको छ भने कथा लेख्ने हतार नगर्नुहोस्। युद्ध सकिएपछि ढुक्कसँग लेखौला।
युद्ध हुँदाहुँदै लिपिबद्ध भएको चाहिँ गीता हो, जसमा सत्यको अनमोल सुगन्ध छ।
स्मरण रहोस्, महाभारतमा अभिमन्युको बलिदानीपछि नै युद्ध झन् बढी भड्किलो बनेको थियो।
युद्ध सकियोस्, अनि कथा लेखौला।
युद्ध नसकिँदै कथा लेख्न खोज्नेहरूको कथा पानीको फोका जस्तै अस्थायी हुन्छ।
युद्ध जारी छ। अरू केही समयसम्म चलिरहन्छ।
बर्बरिकले देखे जस्तै वा संजयले देखे जस्तै तटस्थ भावले युद्ध हेर्नुहोला।


