काठमाडौं । सनराइजर्स हैदराबादलाई ४७ रनले हराउँदै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को क्वालिफायर टु मा स्थान बनाएको छ । अब राजस्थानले फाइनल प्रवेशका लागि क्वालिफायर टु मा गुजरात टाइटन्ससँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।
न्यु चण्डीगढमा बुधबार राति भएको एलिमिनेटर खेलमा राजस्थानले दिएको २ सय ४४ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १९.२ ओभरमा १सय ९६ रनमै अलआउट भयो।
हैदराबादका लागि नितिश कुमार रेड्डीले बनाएको ३८ रन नै सर्वाधिक रह्यो। शालिल अरोराले ३५, इसान किसानले ३३ र शिवम कुमारले २७ रन थपे। ताभिस हेडले १७ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
राजस्थानका लागि जोफ्रा आर्चरले ३ विकेट लिए। नान्द्रे वर्गर, शुशान्त मिश्र र रविन्द्र जडेजाले समान २ विकेट लिए। यसराज पुन्जाको नाममा एक विकेट रह्यो।
त्यसअघि न्यु चन्डीगढस्थित महाराजा यादाभिन्द्र सिंह अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४३ रनको विशाल योगफल तयार पारेको थियो।
राजस्थानका लागि वैभव सूर्यवंशीले ९७ रनको महत्त्वपूर्ण योगदान दिए। २९ बलमा ५ चौका र १२ छक्का प्रहार गरेका सुयैवंशी प्रफुल हिंगेको बलमा क्याच आउट हुन पुगे। ध्रुव जुरेल अर्धशतक बनाउँदै पेभेलियन फर्के। कप्तान रियान परागले २६, यशश्वी जैसवालले २९ र दोनोभन फेरिरा र रविन्द्र जडेजाले समान १२ रन बनाए।
हैदराबादका प्रफुलले ३ विकेट लिए। इसान मालिंगा, शिभाङ कुमार र नितिश कुमार रेड्डीले समान एक विकेट आफ्नो नाममा गरे।
राजस्थानको जितमा १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले महत्वपूर्ण प्रदर्शन गरे । उनले केवल २९ बलमा ९७ रनको विस्फोटक इनिङ्स खेले। उनले १२ छक्का र ५ चौका प्रहार गरे ।
सूर्यवंशी आइपिएल इतिहासकै सबैभन्दा छिटो शतक बनाउने क्रिस गेलको कीर्तिमान तोड्ने नजिक पुगेपनि चुके । उनी २९ बलमा ९७ रन बनाएर आउट भए । गेलले ३० बलमै शतक बनाएका थिए ।
तर सूर्यवंशीले एउटै सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान भने बनाए।


