काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पुनर्गठन र पुनर्जागरण ल्याउने भन्दै निराशा र पलायनको बाटो नरोज्न कार्यकर्तालाई आग्रह गरेका छन्।
पार्टी छाडिरहेकाहरूलाई सम्बोधन गर्दै ओलीले अन्तरपार्टी निर्देशन (अपानि) मार्फत् इतिहासका विभिन्न कालखण्डमा गम्भीर भन्दा गम्भीर चुनौती सामना गर्दै पार्टी राष्ट्रिय राजनीतिको केन्द्रीय भूमिकामा स्थापित भएको स्मरण समेत गराएका छन् ।
‘निर्वाचनमा व्यहोर्नुपरेको गम्भीर पराजयका कारणले पार्टीको एउटा हिस्सा निराश र पलायन हुन खोजेको अवस्था छ। यसप्रकारको अवस्थामा सुधार ल्याउनु र पार्टीपंक्तिमा आशाको संचार जागृत गर्नु आवश्यक छ। पार्टी समीक्षाको चरणमा रहेको हुँदा केन्द्रीय कमिटीको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्य योजना अघि बढाइने छ। पार्टी सदस्यता नवीकरणको प्रक्रियाबाट नै त्यो काम अघि बढाउने छ।' उनले भनेका छन्, जतिसुकै गम्भीर समस्या भए त्यसको समाधान सम्भव छ। चुनौती जतिसुकै जटिल भए पनि त्यसको पनि सामना गर्न सकिन्छ। इतिहासका विभिन्न कालखण्डमा गम्भीरभन्दा गम्भीर चुनौतीलाई सामना गर्दै पार्टी राष्ट्रिय राजनीतिको केन्द्रीय भूमिकामा स्थापित गरिएको हो भन्ने सत्यलाई मनन गरेर पार्टी काममा सक्रियताका साथ जुट्न म सम्पूर्ण कमरेडहरूलाई हार्दिक अनुरोध गर्दछु ।’
अहिले पार्टी र आन्दोलनसामू गम्भीर चुनौती खडा भएको र लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको नेपालको संविधान नै संकटमा परेको उनको विश्लेषण छ ।
लोकतान्त्रिक गणतन्त्रको भविष्य संकटमा रहेको उनले दाबी गरेका छन्। संसदीय लोकतन्त्रको हुर्मत लिने काम वर्तमान सरकारबाट भइरहेको उनको ठम्याइ छ।
‘नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ। भूराजनीतिक द्वन्द्वमा नेपालीको भूमिलाई दुरुपयोग गर्न चाहने स्वार्थी तत्वहरुको चलखेल बढेको छ। नवगठित सरकारका काम र क्रियाकलापहरूले नेपालीको भौगोलिक अखण्डता नै संकटमा पर्ने हो कि भन्ने गम्भीर आशंका पैदा भएको छ,’ ओलीले अपानिमार्फत् विश्लेषण गरेका छन्।
यस्तो अवस्थामा पार्टी आन्दोलनको मात्र होइन, लोकतान्त्रिक भविष्यको सुनिश्चिताका लागि संविधानको रक्षा गर्ने अभिभारासमेत पार्टीसामू रहेको उनले बताएका छन्।
विश्व व्यवस्थामा भइरहेको हलचल र त्यसका प्रभाहरुबाट क्षेत्रीय अस्थिरता उत्पन्न नहोस् र नेपालको सार्वभौमसत्ता र अखण्डतामा समस्या नआओस् भन्नका लागि पनि हाम्रो पार्टी सबल र सुदृढ हुनु आवश्यक रहेको उनले औंल्याएका छन्।
‘निश्चय नै निर्वाचनको अस्वभाविक परिणामबाट हामी सबै चिन्तित छौं। पार्टीका सामू उत्पन्न चुनौती र संकटलाई सामना गरेर नै हामीले निर्वाचनका समयमा भन्ने गरेको देश पहिला भन्ने नाराको सार्थकतालाई पुष्टि गर्न सफल हुनेछौं। भदौ २३ र २४ को घटनापछि उत्पन्न असहज परिस्थिति, पार्टीभित्र उत्पन्न अन्तरविरोध समेतका कारणले हामीले समयअगावै एघारौं राष्ट्रिय महाधिवेशन आयोजना ग¥यौं,’ उनले भनेका छन्।


