काठमाडौं । धवलशमशेर राणाले पार्टी फुटाउने तयारी गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पार्टीका तीन पूर्वअध्यक्षले संयुक्त विज्ञप्ति निकालेर नेता र कार्यकर्तालाई धैर्य रहन अपिल गरेका छन् ।
शनिबार केन्द्रीय कार्यालय धुम्बाराहीबाट पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त हस्ताक्षर गर्दै यस्तो अपिल गरेका हुन् । राप्रपाका वरिष्ठ नेताहरूले पार्टीमा देखिएको पछिल्लो राजनीतिक परिस्थितिलाई लिएर चिन्ता व्यक्त गर्दै संगठनलाई सुदृढ बनाएर अघि बढ्न जोड दिएका छन् ।
विज्ञप्तिमा पार्टीभित्रका समस्यालाई बहाना बनाउँदै केही व्यक्तिबाट भइरहेको पलायन र विभाजनको प्रयासलाई ‘आत्मघाती कदम’ को संज्ञा दिइएको छ । नेताहरूले भनेका छन्, ’अहिलेको घडीमा पार्टी छाड्ने वा पलायन हुनेबारे नसोच्न र त्यस्तो आत्मघाती कदम नचाल्न हामी पार्टीका सम्पूर्ण साथीहरूलाई विशेष अनुरोध गर्दछौँ ।’
गत निर्वाचनमा पार्टीले अपेक्षित नतिजा ल्याउन नसके पनि राप्रपाको भविष्य उज्ज्वल रहेको उनीहरूले भनेका छन् । पार्टी एकतालाई जोगाइराख्न सके छोटो समयमै हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा स्थापित गर्न सकिने भन्दै उनीहरूले कार्यकर्तालाई विचलित नहुन आह्वान गरेका छन् ।
विज्ञप्तिमा आन्तरिक समस्याको समाधान महाधिवेशनबाटै गरिने प्रतिबद्धता जनाइएको छ । आगामी जेठ महिनाको अन्तिम साता बस्ने केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति निश्चित गर्ने र पार्टीभित्रका समस्या, विकृति तथा चुनौतीहरूलाई महाधिवेशनमार्फत नै हल गरिने पूर्वअध्यक्षहरूको भनाइ छ ।
राप्रपाका महामन्त्री राणा नयाँ पार्टी गठनको कसरतमा लागेका छन् । राप्रपा महामन्त्री पद परित्यागको घोषणा गरेर उनले पार्टी गठन गर्ने तयारी गरेका हुन् ।
तर तीन नेताले राप्रपा स्थापना गर्दाको स्मरण पनि गराएका छन्। कठिन अवस्थामा राप्रपा स्थापना गरिएको जनाउँदै अब यसलाई अगाडि बढाउन नयाँ पुस्ताले जुटेर काम गर्नुपर्नेमा जोड दिएका छन्।
‘बहुदलीय प्रजातन्त्र पुनर्स्थापनापश्चात् देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति स्थापना गर्ने उद्देश्यका साथ २०४७ साल जेठ १५ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको उदय भएको हो,’ तीनै जनाले भनेका छन्, ‘मुलुकले भोग्नु परेको वर्तमान संकटबाट मुक्तिका निम्ति राप्रपालाई अझ सशक्त ढङ्गले संगठित गर्न हामी सदैव प्रतिबद्ध छौँ।’


