काठमाडौं । एसियाली खेलकुद छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले चीनविरुद्ध विशाल जित हासिल गरेको गरेको छ।
आज ९आइतबार० बिहान सिंगापुरको सिंगापुर नेसनल क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले चीनविरुद्ध २ सय २१ रनको फराकिलो जित हासिल गरेको हो ।
नेपालले दिएको ३ सय १४ रनको विशाल लक्ष्य पछ्याएको चीन ४ बलअगावै ९२ रनमा अलआउट भयो ।
चीनलाई सस्तैमा रोक्न नेपालका लागि कुशल मल्लले ३ विकेट लिए। उनले १.२ ओभरमा १ मेडन राख्दै ३ विकेट लिएका हुन्।
सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए। नन्दन यादवको नाममा १ विकेट रह्यो।
सेनजियान झेङले बनाएको ३१ रन नै चीनका लागि सर्वाधिक रह्यो। डु जिनहाओले १७ र कप्तान टियान सेनक्वुनले १२ रन बनाए।
त्यसअघि चीनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा ३ सय १३ रन बनाएको थियो ।
टी–२० आईमा नेपालले बनाएको यो दोस्रो ठूलो विशाल स्कोर हो ।
नेपालले यसअघि २०२३ मा हाङझाओमा भएको एसियाली खेलकुदमा मंगोलियाविरुद्ध निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३ सय १४ रन बनाएको थियो।
विस्फोटक ब्याटिङ गरेका ओपनर कुशल भुर्तेल १ सय २९ रन बनाउँदै पेभेलियन फर्के। ४३ बलमा ५ चौका र १६ छक्का सहयोगमा १ सय २९ रन बनाएका कुशल डेङ जिंकीको बलमा क्याच आउट हुन पुगे। कुशलले ३५ बलमा ४ चौका र १२ छक्का सहयोगमा शतक पूरा गरे । उनले १६ छक्का हाने ।
रोहित पौडेल १९ बलमा ५ चौका र ६ छक्का सहयोगमा ६९ रनमा अविजित रहे। कुशल मल्लले ४७ बलमा ८ चौका र ५ छक्का प्रहार सहयोगमा ९५ रनमा नटआउट रहे।
दोस्रो विकेटका लागि कुशल भुर्तेल र कुशल मल्लले १ सय ७५ रनको साझेदारी गरे। योसँगै भुर्तेल र मल्लले सन् २०१९ मा सिंगापुर टी–२० त्रिकोणात्मक सिरिजमा पारस खड्का र आरिफ शेखले दोस्रो विकेटका लागि गरेको साझेदारीको कीर्तिमान तोडेका छन्।
सिंगापुरमै पारस र आरिफले सिंगापुरविरुद्ध दोस्रो विकेटका लागि १ सय ४५ रनको नटआउट साझेदारी गरेका थिए।
समग्रमा यो नेपालका लागि कुनै पनि विकेटका लागि भएको दोस्रो ठूलो साझेदारी हो।
यसअघि २०२३ को हाङझाउमा भएको एसियाली खेलकुदमा रोहित पौडेल र कुशल मल्लले मंगोलियाविरुद्ध तेस्रो विकेटका लागि १ सय ९३ रनको साझेदारी गरेका थिए।


