काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेकै ढङ्गले पार्टी चल्न नसक्ने भन्दै पूनर्गठनको विकल्प नभएको बताएका छन् ।
सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै उनले अध्यक्ष केपी ओलीकै सामु पार्टी पुनर्गठनको विकल्प नभएको सुनाएका हुन् ।
उनले भने, ‘हाम्रो पार्टीमा अहिले हामीले जसरी काम गर्दैर्छौँ, यही रूपमा यस्तै ढङ्गले हाम्रो पार्टी अगाडि बढ्न सक्दैन भन्ने निष्कर्ष निकालेका छौँ । पार्टीको सङ्गठनात्मक जीवनलाई पनि पुनर्गठन गर्नेछौँ । सचिवालय बैठकले निर्वाचनको समीक्षा प्रतिवेदन तयार गर्ने, पुनर्गठनसम्बन्धी प्रस्ताव तयार गर्ने कार्यदल निर्माण गरेको छ ।’
उनले कार्यदलको प्रस्ताव अनुसार सचिवालय र केन्द्रीय कमिटीमा थप छलफल गरेर पुनर्गठनबारे निर्णय लिने बताए ।
उपाध्यक्ष पौडेलले पार्टीका हरेक गतिविधि अब जनतातिर फर्किने बताए। ‘गत वर्षको जेनजी आन्दोलन र फागुनको निर्वाचनमा हामीले इतिहासमा नै खराब धक्का बेहोरेका छौँ,’ पौडेलले भने, ‘यो सिकाइबाट अब पार्टीका हरेक गतिविधि जनतातिर फर्किएका हुनेछन् र राष्ट्रिय हिततिर फर्किएका हुनेछन्।’
उनले जनतासँग टुटेको सम्बन्धलाई फेरि जोड्नु पार्टीको मुख्य कार्यभार रहेको बताए। संगठनात्मक जीवनमा भोगेका चुनौतिलाई सामूहिक रुपमा किनारा लगाउनु सबै सदस्यको दायित्व भएको बताए।
उनले पार्टी सदस्यता प्राप्ति तथा नवीकरण केवल एउटा सदस्यता मात्र होइन त्यो एउटा राजनीति, विचार र जिम्मेवारीको प्राप्तिको रुपमा पनि बुझ्नु पर्ने बताए।
सन् १९२० मा स्थापना भएको छिमेकी भारतीय कम्युनिस्ट पार्टी र चीनमा सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीका कार्यशैलीले एउटा कम्युनिस्ट पार्टी अत्यन्तै कमजोर भएको र अर्को कम्युनिस्ट पार्टी विश्वकै शक्तिशाली हुँदै गएको बताए।
‘भारतको कम्युनिस्ट पार्टी इतिहासमै कमजोर भयो तर चीनको कम्युनिस्ट पार्टी शताब्दीमा शक्तिशाली छ,’ पौडेलले भने ‘नेपालले छिमेकका यी दुई ठूला देशका कम्युनिस्ट पार्टीका कार्यशैलीबाट आफू कस्तो अवस्थामा पुग्ने भन्ने पनि शिक्षा लिनु पर्दछ।’


