काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले नेपालको आर्थिक समृद्धि र विकासको ढोका खोल्ने विशेष एजेन्डासहित भारत भ्रमण गरेको बताएका छन् ।
प्रवासी नेपाली सम्पर्क मञ्च भारतद्वारा नयाँ दिल्लीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य रहेको बताए । आफ्नो भ्रमणका्े एजेण्डा राजनीतिक भन्दा आर्थिक विकास रहेको उनले बताए ।
’ अब हामी सम्मानित मात्र भएर पुग्दैन, समृद्ध पनि हुनुपर्नेछ। नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न त धेरै आए, तर यसपटक म समृद्धिको ढोका खोल्न आएको हुँ। समृद्ध नेपालको सपनामा सहकार्य गर्ने एजेन्डा बोकेर म यहाँ आएको छु।’ सम्बोधनका क्रममा उनले भने ।
उनले भारतसँगमा आफ्ना व्यक्तिगत वा पार्टीगत माग केही नरहेको उल्लेख गर्दै सबै मुद्दा नेपाल र नेपालीको उन्नतिमा मात्र केन्द्रित रहेको उल्लेख गरे ।
उनले थपे, ‘पछिल्लो १०-१२ वर्षमा भारतले विकास र समृद्धिको जुन फड्को मार्यो, हामी छेउमै बसेर हेरी मात्र रह्यौँ। अब सँगसँगै यात्रा गर्ने र समृद्धिको बाटोमा यात्रा गर्ने, ससाना कुराहरूलाई मिलाउँदै, सल्लाह गर्दै, संवाद गर्दै अगाडि जानेछौँ।’
रास्वपाले मुलुकमा राजनीतिक भागबन्डाको युग अन्त्य गर्ने कसम खाएको चर्चा गरे ।
‘हामी भागबन्डा गर्न होइन, नेपालीको भाग्य परिवर्तन गर्न आएका हौँ। बाटो सजिलो छैन, तर असम्भव पनि छैन’ उनले भने । प्रवासी नेपालीहरूलाई आफ्नो सीप र पुँजी देशको लगानीमा उपयोग गर्न आग्रह गर्दै मुलुक परिवर्तनको यात्रामा आफैँ विकल्प बन्न आह्वान समेत गरे ।
विगत १०-१२ वर्षमा भारतले विकास र समृद्धिमा मारेको फड्कोलाई नजिकबाट नियालिरहेको बताउँदै उनले अब नेपाल पनि सँगसँगै यात्रा गर्ने खाकासहित कूटनीतिक च्यानलहरूलाई सक्रिय बनाउन लागिपरेको दाबी गरे ।
आफूले पनि जीवनका सुनौला वर्षहरू प्रवासमा बिताएकाले परदेशिनुको पीडा राम्रोसँग बुझेको स्मरण गर्दै लामिछानेले रास्वपा यसपटक प्रवासी नेपालीका समस्या समाधानको ‘मलम’ सहित आएको बताए ।
स्वदेशमै रोजगारी, शिक्षा र स्वास्थ्यको भरपर्दो व्यवस्था गरी नेपालीहरूलाई मातृभूमि फर्कने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
भाजपाको निमन्त्रणामा पाएको सद्भाव र सम्मान व्यक्तिगत नभएर सम्पूर्ण नेपाली र भारतमा रहेका प्रवासीहरूको भएको उनले बताए ।


