काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले पार्टी फुटिसकेको बताएका छन् । आइतबार विराटनगरमा आयोजित संस्थापन इतर पक्षको भेलामा बोल्दै कोइरालाले पार्टी दुई टुक्रा भएको बताएका हुन् । तर उनले एक मात्र विकल्प एकता भन्दै मिल्नुपर्नेमा जोड दिए ।
शाशांकले कोइराला निवास जाँदा आफ्नो आँखाबाट आँशु आएको बताए । ‘आज कोइराला निवास गएँ, आँखाबाट आँशु आयो । तर, कांग्रेस आज टुक्रिएको छ, टुक्राइएको हो । अदालतले टुक्रा बनायो, यो गलत थियो । अब पार्टी एकता गरेर अघि बढ्नुपर्छ । गाउँभरि कांग्रेस छन्, तर भोट गएन,’ उनले भने ।
अहिलेको परिस्थितिमा सबैभन्दा ठुलो र प्राथमिक आवश्यकता पार्टी एकता नै भएको स्पष्ट पार्दै उनले कांग्रेस बलियो नभई देशको विकास सम्भव नहुने जिकिर गरे ।
उनले परिवर्तनको पक्षमा उभिन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि नेता तथा कार्यकर्ताहरू एकताबद्ध भएर लड्नुपर्ने बताए ।
उनले वर्तमान सभापति गगन थापालाई लक्षित गर्दै कोइरालाले यति धेरै पुराना र अनुभवी नेताहरू बाहिर रहँदा एक्लै पार्टी चलाउन सम्भव नहुने दाबी गरे ।
‘२०४८ मा गिरिजाप्रसाद कोइरालाले ठूलो परिवर्तन गर्नुभयो । कांग्रेस नै परिवर्तनको पक्षमा उभिएको थियो । के गगन थापाले एक्लै पार्टी चलाउन सक्नुहुन्छ ? ,’ उनले भने । शशांकले पार्टी एकताको नेतृत्व डा शेखर कोइरालाले गरिरहेको बताए ।


