काठमाडौं। फिफा विश्वकपको समूह ‘बी’ अन्तर्गत स्विट्जरल्यान्ड बोस्निया एन्ड हर्जेगोभिनालाई ४–१ ले हराएकाे छ ।
लस एन्जलस स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डका लागि जोहान मान्जाम्बीले दोस्रो हाफमा मैदान प्रवेश गरेपछि दुई गोल गरे। यस्तै रुबेन भार्गास र ग्रानिट जाकाले पनि एक–एक गोल थपे।
खेलको ८०औँ मिनेटमा बोस्नियाका डिफेन्डर तारिक मुहारेमोभिच रातो कार्ड खाँदै मैदानबाट बाहिरिए।
ब्रिल एम्बोलोलाई स्पष्ट गोल गर्ने अवसरबाट रोक्न पछाडिबाट फाउल गरेपछि रेफ्री जोआओ पिन्हेइरोले उनलाई सोझै रातो कार्ड दिए। त्यसपछि स्वीस टोलीले बोस्नियामाथि दबाब सिर्जना गर्यो ।
त्यसअघि लामो समयसम्म बोस्नियाको रक्षात्मक रणनीतिले स्विट्जरल्यान्डलाई रोकिरहेको थियो। तर प्रशिक्षक मुराट याकिनले ७१औँ मिनेटमा मान्जाम्बीलाई मैदान छिराएपछि उसको खेल प्रभावी देखियो ।
मान्जाम्बीले मैदान प्रवेश गरेको केही समयमै स्विट्जरल्यान्डलाई अग्रता दिलाए।
९०औँ मिनेटमा भार्गासकै पासमा मान्जाम्बीले व्यक्तिगत दोस्रो गोल गर्दै स्विट्जरल्यान्डलाई ३–० को सहज स्थितिमा पुर्याए।
इन्जुरी समयमा बोस्नियाका वैकल्पिक खेलाडी एर्मिन माह्मिकले शानदार भलीमार्फत एक गोल फर्काए पनि त्यसको केहीबेरपछि जाकाले पेनाल्टीमा गोल गर्दै स्विट्जरल्यान्डको ४–१ को जित सुनिश्चित गरे।
पहिलो खेलमा कतारसँग १–१ को अप्रत्याशित बराबरी खेले पनि स्विस टोली लगातार चौथो विश्वकपमा नकआउट चरण पुग्ने देखिएको छ ।


