काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले नेपाली सेना लगायत सुरक्षा निकायको आलोचना गरेका छन् ।काठमाडौं आयोजित एक कार्यक्रममा उनले परमाधिपति बस्ने स्थान सुरक्षित राख्न नसक्ने सुरक्षा निकायले देशको सुरक्षा दिने विश्वास गर्नुपरेको टिप्पणी गरेका हुन् ।
उनले जेन–जी आन्दोलनमा भएका घटनाहरुको स्मरण गर्नुहुँदै त्यस अवधिमा देशको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाए। जेन–जी आन्दोलनमा सुरक्षा निकायहरुले सिंहदरबार, सर्वोच्च अदालत र सेनाको परमाधिपति बस्ने स्थानसमेत सुरक्षित राख्न नसकेको बताए । त्यही सुरक्षामाथि निर्भर भएर देश अगाडि बढ्नुपर्ने अवस्था रहेको उनको भनाई छ । उनले जेन–जी आन्दोलन पनि सुरुआत गर्ने समूहको नियन्त्रणबाट बाहिर गएको बताए । आन्दोलन सुरु गर्ने युवाहरूले नै आन्दोलन आफ्नो नियन्त्रणमा नरहेको स्वीकार गरेको उनले बताए ।
उनले भने, ‘यो जेन–जी विद्रोह हामी भन्ने गर्छौ, त्यो विद्रोह गर्ने युवा पुस्ताले हाम्रो हातबाट त १२ बजेबाटै हाइज्याक गरियो, आन्दोलन भन्छन् । उनीहरूका नेताहरूले भन्या छन्, हाम्रो हातमा थिएन, त्यो आन्दोलन । हामीले त सुरु मात्रै गरेका थियौँ । हामीले जम्माजम्मी दुई तीनटा कुरा मात्रै उठाएका थियौँ । एउटा व्यथितिपूर्ण शासन भयो, अर्को सामाजिक सञ्जालको बन्द भयो, भ्रष्टाचार बढ्यो । यिनै कुराहरू उठाएका थियौं । हामीले आन्दोलन सुरु गर्ने वित्तिकै हाम्रो हातबाट खोसियो, तोडफोड भयो, आगलागी भयो, सरकारले मान्छे मार्ने स्थिति बन्यो र यो स्थिति भयो । त्यो २३ गतेको १–२ बजेपछिका घटनाहरू र अनि २४ गतेको दिनभरिका घटना एकचोटी सम्झौंत र हाम्रो देशको स्थिति के भयो । त्यस्तो शक्ति त्यस्तो सुरक्षा अङ्ग जसले हाम्रो सिंहदरवार बचाउन सकेन, जसले हाम्रो सर्वोच्च अदालत बचाउन सकेन, जसले सेनाको परमाधिपति बस्ने ठाउँ बचाउन सकेन । त्यो सुरक्षा अङ्ग त्यसै माथि निर्भर रहेर हाम्रो देश बाँच्छ भनेर हामी हिड्नु परेको छ ।’
उनले वर्तमान स्थितिमा नेपालमा कम्युनिष्टहरु एकतावद्ध हुन आवश्यक रहेको पनि बताए । राष्ट्र संकटमा रहेको उल्लेख गर्दै उनले राष्ट्रियता जोगाउन कम्युनिष्ट एकता अपरिहार्य रहेको दाबी गरे । –न्युज एजेन्सी नेपाल


