काठमाडौं। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्।
मंगलवार राति उनले उज्बेकिस्तानविरुद्धको खेलको छैटौँ मिनेटमै गोल गर्दै छ फरक–फरक विश्वकप संस्करणमा गोल गर्ने पहिलो खेलाडी बने।
४१ वर्षीय रोनाल्डोले जोआओ कान्सेलोको क्रसलाई दायाँ खुट्टाले जाली चुमाउँदै पोर्चुगललाई १–० को अग्रता दिलाए ।
यो गोलसँगै रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो सबैभन्दा पाका खेलाडी पनि बनेका छन्। यसअघि रोजर मिलाले सन् १९९४ को विश्वकपमा ४२ वर्षको उमेरमा गोल गर्दै यो कीर्तिमान बनाएका थिए।
यस वर्ष रोनाल्डो र अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकपका छ संस्करण खेल्ने इतिहासकै पहिलो पुरुष खेलाडी बनेका थिए।
रोनाल्डोले विश्वकपमा गोल गर्ने आफ्नो यात्रा सन् २००६ मा सुरु गरेका थिए। त्यसयता उनले २०१०, २०१४, २०१८, २०२२ र २०२६ का विश्वकपमा पनि गोल गर्दै लगातार छ विश्वकपमा गोल गर्ने अद्वितीय कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।


