काठमाडौं । मोरक्को फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार विहान भएको समूह चरणको अन्तिम खेलमा हाइटीलाई ४–२ को गोलअन्तरले पराजित गर्दै मोरक्को अन्तिम ३२ मा प्रवेश गरेको हो ।
ब्राजिलसँग समान ७ अंक भएपनि गोलअन्तरका आधारमा दोस्रो स्थानमा रहँदै मोरक्को नकआउट चरण प्रवेश गर्यो ।
पहिलो हाफमा दुई पटक पछि परेको अवस्थालाई उल्टाउँदै मोरक्कोले जित हासिल गर्यो । खेलको १० औं मिनेटमै आत्मघाती गोल खाएर मोरक्को पछि परेको थियो । त्यसपछि ३९ औं मिनेटमा मोरक्कोका अचरफ हाकिमीले गोल फर्काएर खेल १–१ को बराबरीमा ल्याए ।
खेलको ४३ औं मिनेटमा हाइटीका विल्सन इसिडोरले अर्को गोल थपेर खेललाई २–१को स्थितिमा पुर्याए । त्यसमा पहिलो हाफको इन्जुरी टाइममा मोरक्कोका इस्माइल साइबेरीले गोल प्रहार गरेर खेल २–२ बराबरीमा ल्याएका थिए ।
त्यसपछि लामो समयपछि गोल हुन सकेन । ७८ औं मिनेटमा सफियन रहिमीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए ।
खेलको ८९ औं मिनेटमा गेसिमी यासिनले अर्को गोल थपेर मोरक्कोका लागि गोलअन्तर बढाए र त्यसपछि गोन हुन सकेन । हारसँगै हाइटी भने समूह चरणबाटै बाहिरिने भएको छ ।


