काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा प्रवक्ता सुरेश शाहले राष्ट्रिय खेलकुद परिषद् र फिफाको विधानबीचको तालमेल नमिल्दा फिफाबाट निलम्बनमा परेको बताएका छन्।
निलम्बनको निर्णयलाई नेपाली फुटबलको इतिहासमा दुःखद् क्षणको रूपमा लिँदै प्रवक्ता साहले यसबाट समग्र फुटबल क्षेत्र, खेलाडी, रेफ्री र तल्लो तहका खेल गतिविधिमा अपूरणीय क्षति पुग्ने बताए।
साहका अनुसार निलम्बनका लागि फिफाले चार पृष्ठ लामो पत्र पठाउँदै विस्तृत कारणसार्वजनिक गरेको छ। फिफाले विशेषगरी एन्फाको निर्वाचन प्रक्रियामा भएको ‘तेस्रो पक्षको हस्तक्षेप’ लाई मुख्य कारण मानेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसअघि एन्फामाथि लगाएको ११ बुँदे निलम्बन र त्यसपछिका घटनाक्रमहरूलाई फिफाले सुक्ष्म रूपमा निगरानी गरिरहेको थियो।
राखेपले लगाएको निलम्बन बिना शर्त फुकुवा भएपनि फिफाले ११ बुँदे शर्तहरूको वर्तमान अवस्था र एन्फाको स्वायत्तताबारे प्रश्न उठाएको थियो। एन्फाले स्वतन्त्र रूपमा आफ्ना गतिविधि र निर्वाचन प्रक्रिया अगाडि बढाउन पाउने कि नपाउने भन्ने विषयमा फिफाले ठोस जवाफ माग गरेको थियो। प्रवक्ता साहले फिफाले दिएको समयसीमाभित्र सन्तोषजनक जवाफ जान नसकेका कारण निलम्बनको प्रक्रिया अघि बढेको स्वीकार गरे।
‘अहिलेको विषम परिस्थितिमा एकले अर्कालाई दोषारोपण गर्नुभन्दा पनि यो समस्याको समाधान खोज्नु आवश्यक छ। एन्फालाई एक स्वायत्त संस्थाको रूपमा काम गर्न दिने वातावरण सुनिश्चित गर्न हामी सरकारसँग छलफल गर्नेछौँ’, उनले भने, ‘एन्फा व्यक्ति सदस्य हुने संस्था नभई क्लब र जिल्ला संघहरूको प्रतिनिधिमूलक संस्था हो। यसको आफ्नै विशिष्ट कार्यविधि र अन्तर्राष्ट्रिय आबद्धता छ, जसलाई सरकारी निकायले बुझिदिनु आवश्यक छ।’


