काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा देखिएको रेबिज विरुद्धको खोपको अभाव टार्न सहयोगस्वरूप खोप उपलब्ध गराएको छ ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले एक औपचारिक कार्यक्रमका बीच उक्त खोप अस्पताल प्रशासनलाई हस्तान्तरण गरिन् । अस्पतालमा रेबिज विरुद्धको खोपको मौज्दात न्युन हुँदै गएको र यसले स्वास्थ्य संकट निम्त्याउन सक्ने समाचार सार्वजनिक भएपछि महानगरपालिकाले उक्त तदारुकता देखाएको हो ।
रेबिजको उपचारका लागि टेकु अस्पताल भरपर्दो र सुलभ गन्तव्य रहेकाले काठमाडौं महानगरसहित छिमेकी पालिका र देशभरबाट आउने बिरामीहरू प्रत्यक्ष प्रभावित हुने जोखिमलाई मध्यनजर गर्दै महानगरले खोप सहयोग गरेको हो । खोप हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले रेबिज प्राणघातक रोग भएको र जनावरको टोकाइपछि समयमै खोप नपाउँदा व्यक्तिको मृत्यु हुनु स्वास्थ्य प्रणालीकै लागि चुनौती भएको बताइन ।
महानगरपालिकाले स्वास्थ्य विभाग र अस्पताल प्रशासनको द्रुत समन्वयका कारण छोटो समयमै खोप व्यवस्थापन गर्न सम्भव भएको जनाएको छ । यस सहकार्यले नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न र सम्भावित मानवीय क्षति रोक्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । डंगोलले महानगरबाट उपलब्ध खोपले नियमित आपूर्ति नहुन्जेलसम्मका लागि संकट व्यवस्थापनमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरिन् ।
उनले भनिन्,‘टेकु अस्पतालमा खोपको अभाव हुन लागेको जानकारी पाएलगत्तै हामीले यसलाई गम्भीरतापूर्वक लियौँ । अस्पताल र महानगरको स्वास्थ्य विभागबीचको समन्वयमा एक हप्ताभित्रै खोप उपलब्ध गराउन सफल भएका छौँ । यो पहलले नियमित आपूर्ति नहुन्जेलसम्मका लागि संकट व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ । रेबिजको सन्दर्भमा ’दोस्रो मौका’ हुँदैन र यसलाई पर्खेर बस्न पनि सकिँदैन । महानगरवासी मात्र नभई काठमाडौंमा सेवा लिन आउने देशैभरका नागरिकको स्वास्थ्य सुरक्षामा टेवा पुर्याउनु हाम्रो दायित्व हो ।’
अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार पछिल्लो समय सरकारी खरिद प्रक्रियामा देखिएका केही प्राविधिक र प्रक्रियागत कठिनाइका कारण खोप आपूर्तिको व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो । उक्त चुनौतीका बीच पनि अस्पतालले गण्डकी र बागमती प्रदेश लगायत अन्य विभिन्न निकायहरूसँगको समन्वयमा खोप सेवालाई निरन्तरता दिँदै आएको बताउनु भयो । महानगरपालिकाले उपलब्ध गराएको १८ सय भायल खोपले थप ९ देखि १० दिनसम्मको माग धान्ने अस्पतालले जनाएको छ । अस्पतालमा दैनिक करिव दुई सयको हाराहारीमा सेवाग्राही खोप लगाउन आउने गरेका छन् ।
उनले भने, ‘रेबिज एक प्राणघातक रोग भएपनि समयमै खोप लगाए यसबाट बच्न सकिन्छ । स्वास्थ्य सेवा विभागबाट खोप खरिद भएर नआउन्जेलसम्म सेवालाई बिना अवरोध सञ्चालन गर्न हामी प्रतिवद्ध छौँ ।’
महानगरपालिकाको शिघ्र प्रतिक्रिया र सहयोगप्रति आभार प्रकट गर्दै यस कार्यले बिरामीहरू खोप नपाएर फर्किनुपर्ने अवस्थाको अन्त्य भएको उल्लेख गर्नुभयो । अस्पतालले आन्तरिक व्यवस्थापन र विभिन्न स्थानीय तह तथा प्रदेश सरकारसँगको सहकार्यमा खोपको मौज्दात कायम राख्दै आएको छ । काठमाडौं महानगरको यो सहयोगले विभागबाट नियमित आपूर्ति नहुन्जेलसम्मका लागि ठूलो राहत पुग्ने अस्पताल प्रशासनको विश्वास छ । –न्युज एजेन्सी नेपाल


