काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत दोस्रो चरणमा पदाधिकारीका लागि भएको निर्वाचनमा निकै कम मत खसेको छ ।
पदाधिकारी छान्न ३० प्रतिशतभन्दा कम भोट खसेको छ। ४३११ जना प्रतिनिधि रहे पनि तोकिएको समयसम्म जम्मा १२८९ जनाले मात्रै भोट हालेका छन् अर्थात ७० प्रतिशतले भोटै हालेनन् । पहिलो चरणको केन्द्रीय समिति निर्वाचनमा २९५९ जनाले मतदान गरेका थिए।
अहिले दोस्रो चरणको निर्वाचनमा केन्द्रीय समितिको तुलनामा पनि आधाभन्दा कमले मात्र भोट हालेका छन्। मतदानको समय अवधि साढे ४ बजेसम्म तोकिएको थियो।
दोस्रो चरणको मतदानमा यति ठूलो संख्यामा प्रतिनिधिहरू किन भोट खसाल्न आएनन् भन्ने यकिन छैन। केही नेताले भने महाधिवेशन अवधि लम्बिँदै गएकाले बसोबास व्यवस्थापन गर्न अप्ठ्यारो परेर धेरै प्रतिनिधि फर्किएको हुनसक्ने बताए।


