काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।
चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हुन् ।
‘देशले आशा भरोसा गरेकाले मैले धेरै मिहिनेत गर्नुपर्ने हुन्छ। यसअघि मलाई अपरिपक्वको आरोप लाग्थ्यो,’ लामिछानेले भने, ‘तर परिस्थितिले मलाई अपरिपक्व हुने छुट दिएको छैन। बढी जिम्मेवार, बढी परिपक्व बन्न परिस्थतिले भनेको छ।’
यस्तै उनले पार्टीभित्रको मनमुटावलाई अन्त्य गर्ने र कसैले गुट या फुटको बिउ रोपेर रहेछ जरैदेखि उखाल्न कटिबद्ध भएर लाग्ने पनि बताएका छन्।
लामिछानेले आफ्नो सम्बोधनमा अन्तर्राष्टिय जगतलाई पनि सन्देश दिए ।
‘नेपाल एउटा स्वामिमानी देश हो। हामी आफ्नो मुलुकको हित सबैभन्दा अगाडि राख्र्छौँ, सबैसँग सहकार्य गेर अगाडि बढ्छौँ,’ उनले भने, ‘हामी वैदेशिक सुसम्बन्धहरूलाई एउटा नयाँ उचाइमा लिएर गएर विकास कूटनीतिको एउटा महत्त्वपूर्ण अभ्यास र अध्यायमा प्रवेश गर्न चाहन्छौँ।’
लामिछानेले प्रथम राष्ट्रिय महाधिवेशनले पार्टीलाई राजनीतिक रूपमा परिपक्व र वैधानिक बनाएको बताएका छन् ।
उनले रास्वपाको राजनीतिक उपस्थितिबाट कुनै पनि राजनीतिक शक्ति भयभित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पार्दै लोकतान्त्रिक गणतन्त्र, संवैधानिक व्यवस्था र शक्ति पृथकीकरणको सिद्धान्तप्रति पार्टी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।
शपथग्रहण तथा समापन समारोहलाई सम्बोधन गर्दै लामिछानेले शासकीय सुधारका विषयमा आफूहरूको फरक दृष्टिकोण भए पनि वर्तमान व्यवस्थाभित्रै रहेर मुलुकका समस्या समाधानका लागि संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘लोकतान्त्रिक गणतन्त्र जोगाउने विषयमा कुनै शङ्का गर्नुपर्ने अवस्था छैन । हामी यही व्यवस्थाभित्र रहेर शासकीय सुधार र मुलुकका तमाम समस्यासँग लड्नेछौँ’, उनले भने ।
उनले रास्वपाले परिपक्व राजनीति गर्न नसकेका केही अवस्था रहेको स्वीकार गर्दै त्यसलाई गलत नियतका रूपमा नबुझ्न आग्रह गरे । ‘हामीले परिपक्व राजनीति गर्न सकेका छैनौँ, त्यो स्वीकार गरेका छौँ। तर त्यो नियतवश होइन, नयाँ भएकाले केही असहजता भएको हो’, उनले भने।
सभापति लामिछानेले महाधिवेशनले पार्टीमाथि लाग्दै आएका विभिन्न राजनीतिक आरोपको जवाफ दिएको दाबी गर्दै रास्वपा विचारविहीन दल भएको आरोपसमेत खारेज भएको बताए । उनले पार्टी अब थप वैचारिक रूपमा स्पष्ट, व्यवस्थित र जिम्मेवार राजनीतिक शक्तिका रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।
उनले अघिल्ला राजनीतिक दलहरूले जस्तै प्रतिशोधको राजनीति रास्वपाले नअपनाउने स्पष्ट पार्दै सबै राजनीतिक दलको अस्तित्वलाई सम्मान गर्ने बताए ।
‘हिजोका दलहरूले जसरी प्रतिशोध साँचे, रास्वपाले त्यसको पुनरावृत्ति गर्नुहुँदैन । हामी सबैको अस्तित्व स्वीकार गर्दै परिपक्व राजनीतिक संस्कृतिका साथ अघि बढ्छौँ’, उनले भने।
लामिछानेले महाधिवेशनले पार्टीभित्र नयाँ र पुरानाको बहससमेत अन्त्य गरेको बताए । ‘अब नयाँ र पुरानाको बहस सकिएको छ । कसैले पनि तुस राख्ने अवस्था छैन । पार्टी परिपक्व बनेको छ र असल राजनीतिक चरित्र निर्माण गर्ने मार्ग प्रशस्त भएको छ’, उनले भने।
प्रतिनिधिहरूले अनुभव र नयाँ पुस्ताबीच सन्तुलन कायम गर्दै जिम्मेवारी बाँडेकाले अब गुटबन्दीको कुनै स्थान नरहेको उनको भनाइ थियो ।


