काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को समूह चरणमा शतप्रतिशत जित निकाल्दै अपराजित रहेर नकआउट चरणमा प्रवेश गरेको छ ।
अमेरिकाको ड्यालस स्टेडियममा आइतबार बिहान भएको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गरेको हो ।
यसअघि अर्जेन्टिनाले पहिलो खेलमा अल्जेरियालाई ३–० र दोस्रो खेलमा अष्ट्रियालाई २–० ले पराजित गरेको थियो ।
जोर्डनविरुद्ध कप्तान लियोनल मेसी, जियोभानी लो सेल्सो र लाउटारो मार्टिनेजले एकएक गोल गरे । जोर्डनका मुसा अल–तमारीले सान्त्वना गोल गरे ।
खेलको १९औं मिनेटमा जियोभानीले फ्रिकिकमार्फत गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए । ३१औं मिनेटमा मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।
खेलको ५५औं मिनेटमा जोर्डनका अल–तमारीले गोल गर्दै खेलमा फर्किने प्रयास गरे । तर, दोस्रो हाफमा मैदान प्रवेश गरेका कप्तान मेसीले ८०औं मिनेटमा फ्रि किकमा उत्कृष्ट गोल गर्दै अग्रता ३ १ पुर्याए । त्यसपछि गोल हुन सकेन र अर्जेन्टिना विजयी भयो ।
समूह ‘जे’ मा अर्जेन्टिनाले ३ खेलबाट ९ अंक जोड्यो ।


