काठमाडौं । नेकपा (एमाले) ले उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएको विषय संसदमा उठाएको छ । एमालेका सांसद पुष्पराज कँडेलले प्रतिनिधिसभा बैठकमा बोल्दै उपाध्यक्ष विष्णु पौडेलको पक्राउ गरेकोमा सरकारको आलोचना गरेका हुन् ।
'विष्णु पौडेल बेकसुर हुनुहुन्छ । सरकारले आफ्ना कमजोरी लुकाउन र अन्तर्राष्ट्रिय निकाय (एफएटीएफ) लाई देखाउनका लागि मात्र उच्च ओहदाका व्यक्ति पक्राउ गरेको नाटक गरिरहेको छ। यो नेकपा एमालेलाई बदनाम गर्ने कुत्सित मनसायले प्रेरित छ ।’ कँडेलले भने ।
कँडेलले सरकारले राजनीतिक प्रतिशोध लिने र विपक्षीलाई तर्साउने रणनीति लिएको र त्यसै अन्तर्गत पौडेललाई पक्राउ गरिएको टिप्पणी गरे । उनले पौडेलको तत्काल रिहाइको माग समेत गरे।
सांसद कँडेलले मन्त्रीहरूले सचिवालयमा नौ जनासम्म सल्लाहकार र निजी सचिव राख्न पाउने गरी तयारी भइरहेको भन्ने समाचारप्रति पनि प्रश्न उठाए । यो ‘नीतिगत भ्रष्टाचार’ को पराकाष्ठा हुने उनले टिप्पणी गरे ।
सरकारले एकातिर वास्तविक अपराधीलाई उन्मुक्ति दिने र अर्कोतिर करका दरमा सूचना चुहावट गरी बिचौलियालाई लाभ पुर्याउने काम गरिरहेको आरोप लगाउँदै कँडेलले सरकारको कार्यशैली निन्दनीय रहेको बताए । । उनले प्रधानमन्त्री कार्यालय मातहत रहेका छानबिन निकायहरूलाई राजनीतिक हतियार नबनाउन समेत चेतावनी दिए । –


