काठमाडौं । कप्तान ह्यारी केन चम्किएर २ गोल गरेपछि इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
एटलान्टा स्टेडियममा भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कंगोलाई २–१ ले हराउँदै इंग्ल्यान्डले प्रिक्वार्टरफाइनलमो यात्रा तय गरेको हो ।
इंग्ल्यान्डको जितमा कप्तान केन नायक बने । एक गोलले पछि परेको अवस्थामा उनले लगातार दुई गोल गर्दै टोलीलाई २–१ को जिताए ।
खेलको ७औं मिनेटमा ब्रायन सिपेङ्गाले गोल गर्दै कंगोलाई अग्रता दिलाएका थिए । पहिलो हाफमै इंग्ल्यान्डले बराबरी गोल पर्काउन नसक्दा दबाब खेपिरहेको थियो । उसको प्रयासमा कंगोका गोलकिपर लियोनल एमपासी बाधक बनिरहेका थिए । तर दोस्रो हाफको अन्तिम १५ मिनेटमा इंग्ल्यान्डले दुई गोल फर्कायो । कप्तान केनले दुवै गोल गरे ।
उनले ७५औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाइ बराबरीमा ल्याए भने खेलको ८६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
त्यसपछि गोल हुन सकेन र इंग्ल्यान्डले पुनरामगन जित निकाल्न सफल भयो । पहिलोपटक नकआउट चरणमा प्रवेश गरेको डीआर कंगोे अग्रता जोगाउन नसक्दा पराजित हुँदै घर फर्कियो ।
दुई गोल गरेपछि केनले जारी विश्वकपमा ५ गोल गरेका छन् । उनीसँगै नर्वेका एर्लिङ हालान्ड ५ गोल गरेका छन् । फ्रान्सका किलियन एम्बाप्पे र अर्जेन्टिनाका लियोनल मेसीले समान ६ गोल गरेका छन् ।
साथै केनले विश्वकपमा गोल संख्या १३ पुर्याएका छन् । उनी विश्वकपमा सर्वाधिक गोल गर्नेमा फ्रान्सका जस्ट पोन्टेनसँगै संयुक्त रुपमा छैटौं स्थानमा उक्लिएका छन् ।


