काठमाडौं । सेनेगलमाथि नाटकीय र चामत्कारिक जित दर्ता गर्दै बेल्जियम विश्वकप फूटबलको प्रि क्वार्टरफाइनल प्रवेश गरेको छ । खेलको अन्तिम समयसम्म २–० ले पछि परेको अवस्थालाई उल्टाउँदै बेल्जियमले ३–२ को नतिजासहित अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो।
खेलको ८६ औँ मिनेटसम्म सेनेगल २–० ले अगाडि थियो । सेनेगलका लागि हबिब डिएरा र इस्माइला सारले गोल गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएपछि बेल्जियम प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगिसकेको थियो । तर त्यसपछि जे भयो त्यो अविश्वसनीय र चमत्कार जस्तै देखियो ।
दोस्रो हाफमा मैदान प्रवेश गरेका रोमेलु लुकाकुले ८६ औँ मिनेटमा गोल गर्दै बेल्जियमको आशा जगाए। लगत्तै ८९ औँ मिनेटमा कप्तान युरी टिलेमान्सले हेडिङमार्फत गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेर खेल अतिरिक्त समय मा धकेलियो।
अतिरिक्त समयको पनि अन्तिम समय अर्थात् १२५ औँ मिनेटमा बेल्जियमले पेनाल्टी पायो। भिडियो असिस्टेन्ट रेफ्रीको ७ मिनेट लामो समीक्षापछि दिइएको पेनाल्टीमा टिलेमान्सले कुनै गल्ती नगरी गोल गरे र बेल्जियमलाई ३–२ को नाटकीय जित दिलाए।
सेनेगलका लागि यो हार निकै पीडादायी रह्यो। अन्तिम समयमा सम्हालिन नसक्दा उसको यात्रा समाप्त भयो । अब बेल्जियमले अन्तिम १६ मा अमेरिका वा बोस्निया–हर्जगोभिना मध्ये एक टोलीसँग मंगलबार सामना गर्नेछ।


