काठमाडौं। स्विट्जरल्यान्ड फिफा विश्वकपको २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ गोलले हराउँदै स्विट्जरल्यान्डले अन्तिम ८ मा स्थान बनाएको हो।
क्यानडाको बीसी प्लेस भ्यानकुभर स्टेडियममा भएको खेल निर्धारित समय र अतिरिक्त समयसम्म गोलरहित बराबरीमा सकिएपछि विजेताको टुंगो टाइब्रेकरबाट लाग्यो, जहाँ कोलम्बिया पराजित हुन पुग्यो ।
यो जितसँगै स्विट्जरल्यान्ड ७२ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।सन १९५४ को विश्वकपपछि स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा पुगेको हो। पेनाल्टी सुटआउटमा कोलम्बियाका दुई खेलाडीले आफ्नो प्रहार मिस गरे। पेनाल्टीमा कोलम्बियाका जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले मात्रै गोल गरे। डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजले पेनाल्टीमा गोल गर्न सकेनन्।
स्विट्जरल्यान्डका भने ४ खेलाडीले गोल गरे। ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासको गोलमा स्विट्जरल्यान्डले अगाडिको यात्रा तय गर्यो। स्विट्जरल्यान्डका म्यानुअल अकांजीले भने पेनाल्टी मिस गरे। अब स्विट्जरल्यान्डले क्वाटरफमाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ।


