काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गा आजदेखि क्वार्टरफाइनलका खेल शुरु हुँदैछन् । पहिलो क्वार्टरफाइनलमा दुई पटक (१९९८ र २०२२) को विश्वविजेता फ्रान्स र अफ्रिकी च्याम्पियन मोरक्को भीड्दैछन् । नेपाली समयानुसार खेल १ः४५ बजे सुरु हुनेछ।
उपाधिको प्रमुख दाबेदार फ्रान्स विश्व फुटबलको नयाँ शक्तिका रूपमा उदाएको अफ्रिकी जायन्ट मोरक्कोबीचको भिडन्त निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । यसलाई प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एक मानिएको छ।
लयमा फ्रान्स
फ्रान्स यस विश्वकपमा अपराजित रहँदै क्वार्टरफाइनल पुगेको हो। समूह चरणमा नर्वे, सेनेगल र इराकलाई हराएको फ्रान्सले नकआउट चरणमा स्विडेनलाई ३–० तथा पाराग्वेलाई १–० ले पाखा लगाएर अन्तिम आठमा स्थान बनाएको हो। पाँच खेलमा १४ गोल गर्दा उसले दुई गोल मात्रै खाएको छ ।
फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे सात गोलसहित गोल्डेन बुटको दौडमा दोस्रो स्थानमा छन्। उनीसँगै उस्मान डेम्बेले, माइकल ओलिसे र ब्राड्ली बारकोलाले फ्रान्सको आक्रमणलाई थप बलियो बनाएका छन्।
प्रभावशाली लयमा फ्रान्स
प्रशिक्षक डिडियर डेसच्याम्प्सको टोली फ्रान्सले यस विश्वकपमा अहिलेसम्म सबै पाँच खेल जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ।
समूह ‘आई’मा फ्रान्सले नर्वे, सेनेगल र इराकलाई पराजित गर्दै शतप्रतिशत नौ अंकसहित शीर्ष स्थानमा रह्यो। त्यसपछि नकआउट चरणमा अन्तिम ३२ मा स्विडेनलाई ३–० ले हरायो भने अन्तिम १६ मा कठिन प्रतिस्पर्धापछि पाराग्वेलाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो।
फ्रान्सले पाँच खेलमा १४ गोल गरेको छ भने केवल दुई गोल मात्रै बेहोरेको छ। फ्रान्सको आक्रमणपंक्ति विश्वकै उत्कृष्टमध्ये एक मानिन्छ। केलियन एम्बाप्पेले यस विश्वकपमा सात गोल गरिसकेका छन् र गोल्डेन बुटको दौडमा लियोनेल मेसी भन्दा एक गोलले पछि छन् भने अर्लिङ हालान्डसँग संयुक्त रूपमा शीर्ष स्थानमा छन्।
यसबाहेक बालोन डी’ओर विजेता ओस्मान डेम्बेले पनि उत्कृष्ट लयमा छन्। उनले समूह चरणमा नर्वेविरुद्ध ह्याट्रिक गरेका थिए। माइकल ओलिसेको खेल त प्रभावशाली र दर्शनीय भैरहेको छ । फ्रान्ससँग अन्य धेरै विश्वस्तरीय खेलाडी पनि छन्।
फेरि इतिहास रच्ने मोरक्कोकाे लक्ष्य
समूह ‘सी’मा स्कटल्यान्ड र हाइटीलाई हराउँदै ब्राजिलसँग बराबरी खेलेर मोरक्को सात अंकसहित दोस्रो स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको थियो।
अन्तिम ३२ मा मोरक्कोले उपाधिको बलियो दाबेदार नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराएको थियो। त्यसपछि अन्तिम १६ मा क्यानडालाई ३–० ले सहज रूपमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो।
सन् २०२२ को विश्वकपमा स्पेन र पोर्चुगललाई हराउँदै सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी तथा अरब राष्ट्र बनेको मोरक्को यसपटक लगातार दोस्रो पटक अन्तिम चारमा पुग्ने इतिहास रच्ने दाउमा छ ।
सन् २०२५ को अफ्रिका कप अफ नेसन्स (अफ्कोन) विजेता मोरक्को अहिले लगातार ३४ खेलमा अपराजित छ । मोरक्कोको बलियो पक्ष भनेको संगठित र अनुशासित रक्षापंक्ति हो। पाराग्वेले फ्रान्सलाई निकै समयसम्म गोल गर्न नदिएझैं मोरक्कोले पनि फ्रान्सको आक्रमण रोक्ने विश्वास लिएको छ।
गोलरक्षक यासिन बोनु, विश्वकै उत्कृष्ट राइट-ब्याकमध्येका अशरफ हाकिमी, भरपर्दा सेन्टर-ब्याकहरू तथा अथक मेहनत गर्ने मिडफिल्ड मोरक्कोका मुख्य हतियार हुन्।
तर मोरक्कोका प्रमुख फरवार्ड इस्माइल साइबारी चोटका कारण फ्रान्सविरुद्ध खेल्न नसक्ने भएका छन्। समूह चरणका तीनवटै खेलमा गोल गरेका साइबारीले नेदरल्यान्ड्सविरुद्ध पेनाल्टी सुटआउटमा निर्णायक पेनाल्टी पनि सफलतापूर्वक प्रहार गरेका थिए। तर क्यानडाविरुद्धको खेलमा ह्यामस्ट्रिङमा चोट लागेपछि उनी क्वाटरफाइनलबाट बाहिरिएका हुन्। यो मोरक्कोका लागि चिन्ताको विषय हो ।
तर मुख्य प्रशिक्षक मोहम्मद ओआहबीले आफ्नो टोली अब कसैका लागि आश्चर्यको विषय नरहेको बताए। उनले भने, ‘हामी अब कुनै आश्चर्यजनक टोली होइनौं। यही कुरा हाम्रो गर्वको विषय हो। यो हाम्रो यात्राको सुरुआत मात्रै हो र आगामी वर्षहरूमा पनि यस्तै प्रदर्शन दोहोर्याउने आशा छ।’
हेड–टु–हेडमा फ्रान्स हाबी
फ्रान्स र मोरक्कोबीच हालसम्म छ खेल भएका छन्।त्यसमध्ये फ्रान्सले चार खेल जितेको छ भने दुई खेल बराबरीमा सकिएका छन्। मोरक्कोले फ्रान्सविरुद्ध अहिलेसम्म जित निकाल्न सकेको छैन।
दुवै टोली पछिल्लोपटक २०२२ विश्वकपको सेमिफाइनलमा भिडेका थिए, जहाँ फ्रान्सले मोरक्कोलाई २–० ले हराएको थियो । फाइनलमा फ्रान्स अर्जेन्टिनासँग पराजित भएको थियो ।


