काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
नेकपा एमालेका नेता यामलाल कँडेल नेतृत्वको सरकारमा कांग्रेसबाट सहभागी सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी, जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले राजीनामा दिएका हुन् ।
बुधबार बिहानका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकमा कांग्रेसका कुनै पनि मन्त्री सहभागी भएनन् । आर्थिक मामिला तथा योजनामन्त्री शाह विदेश भ्रमणमा रहेका छन् भने ऊर्जा तथा जलस्रोत विकासमन्त्री बुढा पनि बैठकमा उपस्थित भएनन् ।
मुख्यमन्त्री कार्यालय पुगेका वन तथा वातावरणमन्त्री अधिकारी र सामाजिक विकासमन्त्री भण्डारी भने मन्त्रिपरिषद् बैठकमा सहभागी नभई राजीनामा बुझाएर फर्किएका थिए ।
कर्णाली प्रदेशमा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकार सञ्चालनमा छ । सरकारमा एमालेबाट मुख्यमन्त्रीसहित दुई मन्त्री र एक राज्यमन्त्री छन् । यसअघि दुई दलबीच कर्णाली प्रदेश सरकार आलोपालो नेतृत्व गर्ने सहमति भएको थियो ।


